सिरहाको हेमनारायण चौकमा ‘सहज हस्पिटल एण्ड अर्थो सेन्टर’ सञ्चालनमा

सिरहाको हेमनारायण चौकमा ‘सहज हस्पिटल एण्ड अर्थो सेन्टर’ सञ्चालनमा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार २३:५९
सिरहाको हेमनारायण चौकमा ‘सहज हस्पिटल एण्ड अर्थो सेन्टर’ सञ्चालनमा

सिरहा : सिरहा सदरमुकामस्थित हेमनारायण चौकमा सहज हस्पिटल एण्ड अर्थो सेन्टर सञ्चालनमा आएको छ । सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले एक विशेष समारोहबीच हस्पिटलको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर डा. यादवले अस्पताललाई ‘गुलाफको फूलझैँ सजाउनुपर्ने’ आवश्यकता औंल्याउँदै सिरहामा गुणस्तरीय, सस्तो र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित हस्पिटल स्थापना हुनु सकारात्मक पक्ष भएको बताए । उनले सिरहाबासीले अब स्वास्थ्य उपचारका लागि बाहिर धाउनु नपर्ने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

“उपचार गराउन बाहिर आएको छु, चिनेको डाक्टर छ भने भन्नु” भन्ने अवस्था अब अन्त्य हुनुपर्ने बताउँदै उनले भने, “सहज हस्पिटलले अब आफ्नै जिल्लामा भरपर्दो सेवा दिनेछ । भरोसा गर्नुहोस्, यतै राम्रो उपचार हुन्छ ।” उनले हस्पिटलमा अलग सूचना तथा स्वास्थ्य परामर्श कक्षको व्यवस्था राख्न पनि अनुरोध गरे ।

मेयर यादवले हस्पिटल सञ्चालन, व्यवस्थापन र आइपर्ने समस्यामा सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । आर्थिक रूपमा पछाडि परेका वर्गसँग निश्चित सर्तसहित सम्झौता गरेर स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “विपन्न तथा असहाय वर्गको उपचार सहज बनाउन सहकार्य गर्छु ।”

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले हस्पिटल सञ्चालनले जिल्लाबाट बाहिर जाने उपचार खर्चमा करोडौं रुपैयाँ बचत हुने दाबी गरे । उनका अनुसार विराटनगर, धरान र जनकपुरमा पाइने सेवा अब सहज हस्पिटलले सिरहामै उपलब्ध गराउनेछ ।

“एक जना बिरामी बाहिर रेफर हुँदा एक लाखभन्दा बढी खर्च हुन्छ । त्यससँगै समय र मानसिक तनाव पनि थपिन्छ,” उनले भने, “सहज हस्पिटलले रेफर दर घटाएर बार्षिक करोडौं रुपैयाँ बचत गराउनेछ ।”

हस्पिटलका सञ्चालक रामकिशोर यादवले स्वास्थ्य समस्या कसैलाई पनि अचानक आइपर्न सक्ने भन्दै पहिलो प्राथमिकताको साथ सेवा लिन आग्रह गरे । उनका अनुसार हस्पिटलले अर्थो, इएनटी, गायनी, जनरल मेडिसिन लगायतका सेवा उपलब्ध गराउने छ ।

सहज हस्पिटलका सञ्चालक रामकिशोर यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पतंजलि योग समितिका रामदेव ठाकुर लगायतले स्वास्थ्य सेवा प्रवाहमा सुधार आवश्यक रहेको सुझाव राखेका थिए । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूलाई डा. पिंकी यादवले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार २३:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !