अध्यादेशमार्फत काम अघि बढाउन रास्वपा सांसद कार्कीको सरकारलाई आग्रह

अध्यादेशमार्फत काम अघि बढाउन रास्वपा सांसद कार्कीको सरकारलाई आग्रह
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १४:३२
अध्यादेशमार्फत काम अघि बढाउन रास्वपा सांसद कार्कीको सरकारलाई आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद्को नियमित प्रक्रियाबाट तत्काल समाधान हुन नसकेका विषयलाई अध्यादेशमार्फत अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बर्खे अधिवेशनको अन्तिम दिन शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का विभिन्न समस्यालाई प्राथमिकताका साथ उठाएका हुन्।

ADVERTISEMENT

उनका अनुसार मोरङ–३ का प्रमुख समस्यामा जग्गासम्बन्धी समस्या, विकास निर्माण, बजेट, पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताललगायत विषय छन्। स्थानीय तहमा लामो समयदेखि समाधानको पर्खाइमा रहेका अन्य समस्या पनि रहेको उनले बताए।

कार्कीले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित देशभरका समस्या समाधानका लागि पनि संसदीय प्रक्रिया प्रभावकारी बन्न नसकेको बताए।

‘हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ। संसद्को नियमित प्रक्रियाले मेरो क्षेत्रको भूमिसम्बन्धी समस्या छिटो समाधान गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ। सरकारको ध्यानाकर्षण गराउँछु।’

संसदीय प्रक्रियामा हुने ढिलाइका कारण नागरिकले दुःख पाउन नहुने उनको भनाइ छ। प्रक्रिया सुधारसँगै तत्काल समाधान आवश्यक रहेका विषयमा सरकारले पहल गर्नुपर्ने उनले बताए।

‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन,’ कार्कीले भने, ‘आशा छ, अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रका समस्याले समाधानको बाटो भेट्नेछ।’

चालू संघीय संसद्को अधिवेशन २८ वैशाख २०८३ मा सुरु भएको थियो। यस अवधिमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित विधेयकहरू पारित गराएको थियो। साथै, अधिवेशन नरहेको समयमा जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकसमेत संसद्बाट पारित भएका छन्।

यसै अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूको सम्बोधनलगायतका काम भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिको कार्यालयमा अधिवेशन अन्त्यका लागि पत्र पठाइएको थियो। सोहीअनुसार शुक्रबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य भएको हो।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १४:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !