चुनावअघि शिलान्यास, तीन वर्षदेखि अलपत्र पसाहा खोलाको पुल

चुनावअघि शिलान्यास, तीन वर्षदेखि अलपत्र पसाहा खोलाको पुल
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार २०:००
चुनावअघि शिलान्यास, तीन वर्षदेखि अलपत्र पसाहा खोलाको पुल

बारा :  प्रदेश र संघीय निर्वाचनअघि ठूलै तामझामसाथ शिलान्यास गरिएको बाराको पसाहा खोलाको पुल तीन वर्षदेखि अलपत्र परेको छ। २०७९ सालको चुनाव नजिकिँदै गर्दा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का नेताहरू रामसहाय प्रसाद यादव (हाल उपराष्ट्रपति) र पूर्वसांसद रामबाबु प्रसाद यादवले संयुक्त रूपमा सिमरा–कोल्हवी सडकखण्डमा पर्ने पसाहा खोलामा पुल निर्माणको शिलान्यास गरेका थिए।

तर, तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण सुरु हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल महाशाखाले करिब ४३ करोड रुपैयाँको लागतमा पुल निर्माणका लागि ठेक्कासम्बन्धी सूचना जारी गरे पनि बजेट नै सुनिश्चित नभएको कारण निर्माण अघि नबढेको जीतपुर सिमरा उपमहानगरपालिका–१७ का वडाध्यक्ष भीम लामाले बताए।

ADVERTISEMENT

पुल नबन्दा सिमरा–कोल्हवी सडकखण्ड भएर यात्रा गर्ने सर्वसाधारण वर्षेनी सास्ती भोग्दै आएका छन्।

घुमाउरो बाटो र बाढीको जोखिम

कोल्हवी नगरपालिका–८ का उमेश सापकोटा सिमरास्थित तामागढी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रका प्रमुख हुन्। उनी विगत चार वर्षदेखि सिमरा–कोल्हवी ओहोरदोहोर गर्दै आएका छन्। तर वर्षा याम सुरु भएसँगै पसाहा खोलामा पानी बढ्ने हुँदा उनी ३० किलोमिटर बढी दूरी घुमेर कलैया हुँदै सिमरा पुग्न बाध्य छन्।

‘वैकल्पिक बाटो छैन। बाढी आएपछि खोलो तर्ने अवस्था हुँदैन। खोलोमा पुल बनिदिएको भए उद्योगधन्दा, कार्यालय वा अस्पतालजस्ता अत्यावश्यक गन्तव्यमा सहजै पुगिन्थ्यो,’ सापकोटाले भने, ‘स्थानीयले नागरिकता बनाउन वा सिफारिस लिन खोलो तरेर वडा कार्यालय जानुपर्ने बाध्यता छ।’

सापकोटा मात्र होइन, करैयामाई गाउँपालिका–३ का स्थानीय सुनिल यादव पनि पुल नहुनु आफैंमा ‘राजनीतिक धोका’ भएको बताउँछन्।

‘चुनाव आउनासाथ नेताहरू खोलाको किनारमा आएर भोट माग्छन्। एकपटक हिँड्छन्, अनि हराउँछन्,’ यादवले भने, ‘हामीको समस्या कसैले सुन्ने होइन।’

राजनीतिक दबाबमा सूचना, बजेट छैन

वडाध्यक्ष लामाका अनुसार पुलको ठेक्का प्रक्रिया नै राजनीतिक दबाबमा ल्याइएको थियो। उनले भने, ‘निर्वाचनका बेला देखावटीका लागि सूचना निकालियो, तर बजेट नहुँदा काम अघि बढेन।’

स्थानीयहरूका अनुसार खोलोमा बाढी आएको बेलामा बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुन्छ। एम्बुलेन्स पुग्न नसक्ने अवस्था आउँछ।

सिमरा–कोल्हवी सडक हुँदै रौतहटको गौरसम्म यात्रा गर्दा मुख्य राजमार्गको तुलनामा करिब ६० किलोमिटर दूरी कम हुन्छ। तर पुल नहुँदा यात्रुहरू बाध्यतावश लामो बाटो प्रयोग गर्न विवश छन्।

वडाध्यक्ष लामाका अनुसार उनले पुल निर्माणका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसँग बजेट विनियोजनको मागसमेत गरेका थिए। तर मागअनुसार बजेट विनियोजन हुन नसकेपछि चालु आर्थिक वर्षको ‘रेडबुक’ मा पनि यो आयोजना समावेश हुन सकेन।

पूर्वसांसद यादवको जवाफ

२०७९ सालको निर्वाचनमा पराजित भएका बारा–३ का पूर्वसांसद रामबाबु यादवले सरकारले नै फेरबदल भएकाले पुलको काम अघि नबढेको जिकिर गरेका छन्।

‘निर्वाचनपछि सरकार परिवर्तन भयो। म पनि पराजित भएँ। त्यसैले पुल निर्माणको काम अगाडि बढाउन सकिएन,’ यादवले भने।

स्थानीय बासिन्दाले भने यस्ता ‘चुनावी शिलान्यास’ लाई देखावटी भनेका छन्। उनीहरूको माग छ— ‘नेताहरूले शिलान्यास होइन, निर्माण गरून्।’

-रातोपाटी

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार २०:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !