मधेश सरकारले सुरु गर्‍यो ऐतिहासिक बीमा कार्यक्रम, एक लाख घरधुरी र ६,६०० नागरिक बीमित

मधेश सरकारले सुरु गर्‍यो ऐतिहासिक बीमा कार्यक्रम, एक लाख घरधुरी र ६,६०० नागरिक बीमित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार १४:५३
मधेश सरकारले सुरु गर्‍यो ऐतिहासिक बीमा कार्यक्रम, एक लाख घरधुरी र ६,६०० नागरिक बीमित

जनकपुरधाम : सामाजिक सुरक्षा र नागरिक जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित मधेश प्रदेश सरकारले पहिलो पटक ऐतिहासिक बीमा कार्यक्रम सुरु गरेको छ।

प्रदेश सरकारले साउन १ गतेदेखि ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको हो।

ADVERTISEMENT

मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बीमाको दायरामा ल्याइएको छ। बीमा कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गरिएको प्रदेश सरकारको दाबी छ।

विपद् र दुर्घटनामा राहत

घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरी लगायत प्राकृतिक विपद्बाट हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। उक्त बीमामा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बीमा सुविधा रहनेछ। त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ। नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ।

बीमा दाबी प्रक्रिया

सरकारले बीमा दाबी प्रक्रिया पारदर्शी र सहज बनाइएको जनाएको छ। पीडितले बीमा दाबी गर्न साक्ष्यसहित निवेदन, प्रहरीको प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण पेश गर्नुपर्नेछ। सरकारले यस्तो कार्यविधिले राहत प्रक्रिया सरल हुने विश्वास लिएको छ।

सामाजिक न्यायतर्फको अग्रसरता

प्रदेश सरकारले बीमा कार्यक्रमलाई सामाजिक न्यायतर्फको महत्वपूर्ण पाइला र नागरिकप्रति राज्यको जिम्मेवारीको रुपमा लिएको छ। “बीमा केवल सहानुभूतिमूलक कार्यक्रम होइन, नागरिकको सुरक्षाको ग्यारेन्टी हो,” प्रदेश सरकारका एक उच्च अधिकारीले भने, “यसबाट दिगो सामाजिक सुरक्षा प्रणालीको जग बस्नेछ।”

नागरिकमा सहभागिताको आग्रह

सरकारले प्रदेशका सबै नागरिकलाई बीमा कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यसलाई आफूहरुको अधिकारको रुपमा बुझ्न आग्रह गरेको छ। मधेश प्रदेशले पहिलो पटक यस्तो व्यापक र समावेशी बीमा योजना लागू गरेपछि नागरिकस्तरबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार १४:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !