वडादेखि केन्द्रसम्मको गुटबन्दी अन्त्य गर्छु : गगन थापा

वडादेखि केन्द्रसम्मको गुटबन्दी अन्त्य गर्छु : गगन थापा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ११, मंगलवार १५:३९
वडादेखि केन्द्रसम्मको गुटबन्दी अन्त्य गर्छु : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने घोषणा गरेका छन्। उनले वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका प्रदेश तथा जिल्ला अधिवेशनको मिति आगामी स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर तय गरिने जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार यस विषयमा छिट्टै केन्द्रीय समितिको बैठक बसेर छलफल गरिनेछ। कार्यसमितिका सदस्यहरूसँगको परामर्शपछि अधिवेशनको उपयुक्त तिथिमिति निर्धारण गरिने उनले बताए।

‘हामीले केही समयपछि प्रदेश र जिल्ला तहको अधिवेशन सम्पन्न गर्नुपर्नेछ। अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर साथीहरूसँग घनिभूत सल्लाह गर्छौं। आगामी स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर उपयुक्त तिथिमिति तय गरिनेछ,’ उनले भने।

सभापति थापाले हालै सम्पन्न पार्टीको महाधिवेशनलाई नेपालको राजनीतिक इतिहासमा ठूलो सहभागितासहित सम्पन्न भएको ऐतिहासिक अधिवेशनका रूपमा चित्रण गरे। ठूलो सङ्ख्यामा प्रतिनिधिहरू सहभागी हुँदा व्यवस्थापनमा चुनौती आए पनि सबैको साथ र सहयोगले महाधिवेशन सफल भएको उनको भनाइ थियो।

पार्टीको आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाबारे धारणा राख्दै थापाले निर्वाचनमा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने मानसिकता पार्टीभित्र हुन नहुने बताए। प्रतिस्पर्धामा पराजित भएका योग्य नेता तथा कार्यकर्तालाई समेत जिम्मेवारी दिएर अघि बढाउनुपर्ने उनले उल्लेख गरे।

‘पार्टीभित्र सबैले आ–आफ्नो भूमिका र सम्मानजनक स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्छ,’ उनले भने।

प्रतिस्पर्धामा पराजित हुनु अन्त्य नभई सिकाइ र अनुभवको अवसर भएको उल्लेख गर्दै सभापति थापाले नेता तथा कार्यकर्ताको क्षमता, योग्यता र अनुभवलाई पार्टीको हितमा उपयोग गर्नुपर्ने धारणा राखे।

पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाउँदै एकता बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति थापाको यो अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्र आन्तरिक एकता सुदृढ गर्ने, योग्य नेता–कार्यकर्तालाई समेट्ने र आगामी निर्वाचनका लागि पार्टीलाई एकताबद्ध बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलवार १५:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !