साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:३७
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषबाट नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै मृतक नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो।

ADVERTISEMENT

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा यस्ता घटनाको निन्दा गर्दै दोषी गतिविधिप्रति भर्त्सनासमेत गरिएको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक रहेको कांग्रेसले जनाएको छ।

कांग्रेस सभापति गगनकुमार थापाले एक जना नेपाली नागरिकले समेत अनाहकमा ज्यान गुमाउनु परेको घटनालाई दुःखद भन्दै साउदी अरबमा कार्यरत नेपालीको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सभापति थापाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन र आवश्यक परे साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारका लागि समेत तयारी गर्न सरकारसँग आग्रह गरेका छन्।

#MadheshPatra

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !