घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:०८
घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं : बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। दसैँ नजिकिँदै जाँदा घर फर्किने यात्रुको चाप बढेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उक्त अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाट बाहिरिएका हुन्।

ADVERTISEMENT

उपत्यका छाड्ने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष छन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो घर फर्किन थालेपछि बसपार्क र प्रमुख नाकाहरूमा यात्रुको चाप बढेको हो।

प्रहरीका अनुसार नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख सडक तथा नाकाहरूमा सवारीसाधनको आवागमनसमेत बाक्लिएको छ।

चाडपर्वका बेला यात्रुको आवागमन सहज बनाउन तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले प्रमुख सडक र नाकाहरूमा निगरानी बढाएको जनाएको छ। यात्रुको सुरक्षा र सवारी व्यवस्थापनका लागि प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए।

उनले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समय तथा पालोमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यात्रु र चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

यसैबीच, यातायात व्यवस्था विभागका अनुसार नागढुंगा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फबाट यातायात सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १३:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !