आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:२५
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं : आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ।

यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थाबाट मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा उपलब्ध गराउनु यसको मुख्य उद्देश्य हो।

निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। यसले प्रसवका बेला आमालाई भावनात्मक सहयोग पुग्नुका साथै उनको मनोबल बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सम्भव भएसम्म छिटो स्तनपान सुरु गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। यसबाट आमा र शिशुबीचको सम्पर्क बढाउन तथा स्तनपानलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा छ।

निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ। आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री, वितरण र प्रवर्द्धनलाई नियमन गर्दै स्तनपानको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने व्यवस्था गरिएको छ। आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउन र सम्भावित स्वास्थ्य समस्या पहिचान गर्न स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ।

नयाँ निर्देशिकाले स्वास्थ्य संस्थामा स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने, आमालाई आवश्यक सहयोग उपलब्ध गराउने तथा आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने विषयलाई महत्त्व दिएको छ।

निर्देशिकामार्फत प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १३:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !