बुढीगण्डकी बाढीको कारण खोज्न ड्रोनसहित भूगर्भविद्को टोली परिचालन

बुढीगण्डकी बाढीको कारण खोज्न ड्रोनसहित भूगर्भविद्को टोली परिचालन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:५०
बुढीगण्डकी बाढीको कारण खोज्न ड्रोनसहित भूगर्भविद्को टोली परिचालन

काठमाडौं : गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको वास्तविक कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ड्रोनसहित भूगर्भविद्को तीन सदस्यीय टोली परिचालन गरेको छ।

बाढीबाट क्षतिग्रस्त सडक पुनःसञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको उच्चस्तरीय टोली पनि घटनास्थलतर्फ पठाइएको छ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार, चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पादेखि चुलीडाँडाबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो। नदीको बहाव एक्कासि खुलेपछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो।

बाढीमा परी चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्। बाढीको सूचना प्राप्त भएपछि प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन र नवलपरासीमा २२१ जना प्रतिकार्यकर्ता परिचालन गरेको थियो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट प्राप्त सूचनाका आधारमा तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचनासमेत पठाइएको थियो।

घर, पुल र जलविद्युत् आयोजनामा क्षति

बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनासहित आसपासका सातदेखि आठवटा घर बगाएको छ। त्यस्तै, चुमनुब्री–३ स्थित पुरानो झोलुङ्गे पुल र आरुघाट जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

बुढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्रमा समेत क्षति पुगेको छ। आयोजनाका निर्माण उपकरण बगाउनुका साथै दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा क्षति भएको प्रारम्भिक विवरण छ।

त्यसैगरी, माछिखोलाको तल्लो बस्तीका करिब २२ घर उच्च जोखिममा परेका छन्।

४३७ सुरक्षाकर्मी उद्धारमा खटिए

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालित भएका छन्।

नेपाली सेनाका चारवटा हेलिकोप्टरमार्फत हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै द्रुत प्रतिकार्य टोली र चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त सडक र पुलको प्रयोग नगर्न आग्रह गरेको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन, बेपत्ताको खोजी र प्रभावित क्षेत्रको अवस्था आकलन गर्ने कार्य जारी छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १६:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !