बुढीगण्डकी बाढीले ठूलो क्षति, पाँच जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीले ठूलो क्षति, पाँच जना सम्पर्कविहीन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १६:०२
बुढीगण्डकी बाढीले ठूलो क्षति, पाँच जना सम्पर्कविहीन

गोरखा : गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परेर पाँच जना सम्पर्कविहीन भएका छन् भने दर्जनौँ घर, झोलुंगे पुल, सडक तथा अन्य भौतिक संरचना बगाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको क्षेत्रमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो। आइतबार बिहान थुनिएको नदी लेदोसहित एक्कासि बगेपछि तटीय क्षेत्रमा व्यापक क्षति भएको हो।

ADVERTISEMENT

बाढीमा परी चुमनुब्री गाउँपालिका–६, चुम्चेतको उङिलुङस्थित भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित ४७ जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दा खोज तथा उद्धारमा खटिएका छन्।

पुल, घर र विद्युत् संरचनामा क्षति

बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर बगेको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल पनि बगेको छ। धार्चे–३ सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको आयोजना क्षेत्र र आसपासका आठवटा घर बाढीले बगाएको प्राधिकरणले जनाएको छ।

आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बगेको छ। आरुघाट–९ स्थित माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २२ वटा घर जोखिममा परेका छन्।

यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनामा पनि क्षति

बाढीले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्रमा क्षति पुर्‍याएको छ। आयोजनाका केही उपकरणसमेत बगाएको प्रारम्भिक विवरण छ।

त्यस्तै, दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ।

तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, बुढीगण्डकी नदीको तटीय क्षेत्रमा आइतबार साँझसम्म पनि जोखिम कायम छ।

प्राधिकरणले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने कार्य जारी छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १६:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !