कांग्रेसमा वरिष्ठ उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य थप्ने तयारी

कांग्रेसमा वरिष्ठ उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य थप्ने तयारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १२:१०
कांग्रेसमा वरिष्ठ उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य थप्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। पार्टीका विभिन्न तहबाट आएका सुझाव तथा नेतृत्वका आकांक्षीहरूको व्यवस्थापनलाई ध्यानमा राख्दै विधान संशोधन गर्न लागिएको हो।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समितिले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा छलफल अघि बढाएको छ। हाल कांग्रेसको विधानमा १७ जना पदाधिकारी र २३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ।

ADVERTISEMENT

प्रस्तावित संशोधनमा दुई उपसभापतिमध्ये एक पद महिलाका लागि सुनिश्चित गर्ने र वरिष्ठ उपसभापति पद सिर्जना गर्ने तयारी छ। वरिष्ठ उपसभापतिको व्यवस्था कांग्रेसको विद्यमान विधानमा छैन। महामन्त्रीको संख्या भने दुई जना नै कायम रहनेछ।

त्यस्तै, सहमहामन्त्रीको संख्या बढाउने विषयमा पनि छलफल भइरहेको छ। हाल जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ समावेशी समूहबाट सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। यसबाहेक खुलातर्फबाट समेत सहमहामन्त्री निर्वाचित हुने व्यवस्था थप्नेबारे छलफल भइरहेको कांग्रेसका एक नेताले बताए।

केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी छ। हाल खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकामा संख्या थप्ने प्रस्तावमाथि छलफल भइरहेको छ। थपिने सदस्यको संख्या भने अझै टुंगो लागिसकेको छैन।

यसअघि विधान संशोधन मस्यौदा समितिले २३१ सदस्यीय केन्द्रीय समितिमा ६१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरेको थियो। अब वरिष्ठ उपसभापति, सहमहामन्त्री र थपिने केन्द्रीय सदस्यसहित कुल संख्या पुनः बढ्ने भएको छ।

तर ३५ वर्षमुनिबाट २१ जना, पेशागत तथा बुद्धिजीवी क्षेत्रबाट ७ जना र जनसम्पर्क समितिबाट ६ जना चयन हुने व्यवस्थामा भने परिवर्तन नहुने बताइएको छ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समितिमा जीवन परियार, ईश्वरी न्यौपाने र राजीव ढुंगाना सदस्य तथा प्रताप पौडेल सदस्यसचिव छन्।

समितिले तयार गर्ने विधान संशोधन प्रस्ताव पार्टीमा पेस हुनेछ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि प्रस्ताव महाधिवेशनबाट पारित गर्नुपर्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार १२:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !