बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए ‘गुनासो पेटिका’, विद्यालयका समस्या समाधान गर्न माग

बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए ‘गुनासो पेटिका’, विद्यालयका समस्या समाधान गर्न माग
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १४:१८
बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए ‘गुनासो पेटिका’, विद्यालयका समस्या समाधान गर्न माग

जनकपुरधाम : मधेश प्रदेशका बालबालिकाले आफूहरूले विद्यालयमा भोगिरहेका समस्या समेटिएको चिठीसहितको ‘गुनासो पेटिका’ मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा आयोजित कार्यक्रममा बालबालिका तथा युवा प्रतिनिधिले शिक्षा, छात्रवृत्ति, बालमैत्री वातावरण, खेलकुद तथा सुरक्षित पूर्वाधारलगायतका विषय समेटिएको मागपत्र र चिठीसहितको पेटिका मुख्यमन्त्री यादवलाई बुझाएका हुन्।

ADVERTISEMENT

बालबालिकाले विद्यालयको भौतिक अवस्था जीर्ण रहेको, सबै पाठ्यपुस्तक नपाउँदै परीक्षा दिनुपर्ने अवस्था रहेको, कक्षा ६ भन्दा माथिका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था नभएको तथा अपांगतामैत्री भवनको अभाव रहेको गुनासो गरेका छन्। यस्तै, विद्यालयमा पुस्तकालय र प्रयोगशाला (ल्याब) को समेत पर्याप्त व्यवस्था नभएको उनीहरूको भनाइ छ।

बालबालिकाले आफ्ना समस्या र गुनासालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न माग गरेका छन्। साथै, बालबालिकासम्बन्धी नीति तथा कार्यक्रम निर्माण गर्दा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नसमेत आग्रह गरिएको छ।

कार्यक्रममा बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका बालबालिकाले विद्यालय तथा समुदायमा आफूहरूले भोगेका समस्या र आवश्यकताबारे तयार पारेका चिठी तथा मागपत्र प्रस्तुत गरेका थिए।

सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्चको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ‘युथ फोर चेन्ज’ (Youth For Change–YFC) की अध्यक्ष प्रतिमा पौडेलसहितको टोलीले बालबालिकाको गुनासो तथा माग समेटिएको पेटिका मुख्यमन्त्री यादवलाई हस्तान्तरण गरेको हो।p

कार्यक्रममा बालबालिका तथा युवा प्रतिनिधिले आफ्ना सवाललाई प्रदेश सरकारको प्राथमिकतामा राखेर आवश्यक नीति, बजेट तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १४:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !