रास्वपालाई सांसद राईको देउसी आशिष– पाँचै वर्ष टिक्नू, आफैँले सरकार नढाल्नू

रास्वपालाई सांसद राईको देउसी आशिष– पाँचै वर्ष टिक्नू, आफैँले सरकार नढाल्नू
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १२:३६
रास्वपालाई सांसद राईको देउसी आशिष– पाँचै वर्ष टिक्नू, आफैँले सरकार नढाल्नू

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारलाई पाँचै वर्ष सत्ता टिकाएर शासन गर्न शुभकामना दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले चालु अधिवेशनमा जनताका प्रश्न उठाए पनि प्रधानमन्त्रीबाट पर्याप्त जवाफ पाउन नसकेको गुनासो गरे। उनले अधिवेशनको गतिविधिका कारण उत्साहका साथ निर्वाचन क्षेत्रमा फर्किने अवस्था नरहेको बताए।

ADVERTISEMENT

राईले दुई तिहाइ नजिकको बहुमत रहेको सरकारले संसद् र प्रतिपक्षलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए। पटक–पटक खोज्दा पनि प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएको उल्लेख गर्दै आगामी अधिवेशनमा त्यस्तो अवस्था नआओस् भन्ने आग्रह गरे।

आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै उनले आफ्नो शुभकामनालाई देउसीको शैलीमा प्रस्तुत गरे।

‘देउसीले भनेजस्तै म भन्छु, यो साल यस्तै भयो। अर्को साल आउँदा सुनको छाना भनेजस्तै आशीर्वाद दिनुपर्ने भयो,’ उनले भने, ‘सरकारले प्रतिपक्षलाई सही ढंगले अघि बढाओस्, हामीलाई सम्हालेर अगाडि बढ्न सकोस् र जनताका आवाजको जवाफ दिन सकोस्।’

रास्वपाभित्र विवाद रहेको सुनिएको उल्लेख गर्दै राईले सरकारलाई पाँचै वर्ष टिक्न शुभकामना दिए। नेपालको राजनीतिक इतिहासमा बहुमतका सरकारहरूले भोगेका चुनौती स्मरण गर्दै उनले वर्तमान सरकारलाई पनि सत्ता र सरकार जोगाएर अघि बढ्न आग्रह गरे।

‘सत्ता जोगाएर, सरकार जोगाएर पाँचै वर्षसम्म टिकाउनुभयो भने तपाईं–हामीले अथवा जनताले आशा गरेको जस्तो हुनेछ,’ उनले भने, ‘सकारात्मक ढंगबाट तपाईंहरू अगाडि बढ्नुस्।’

राईले सरकार प्रमुखलाई संसद्मा उठाइएका प्रश्नको जवाफ नआएको गुनासोसमेत गरे। मन्त्रीहरूले कतिपय प्रश्नको जवाफ दिए पनि प्रधानमन्त्रीबाट जवाफ पाउन नसकेको उनको भनाइ थियो।

‘जनताका आवाज हामीले धेरै उठाएका थियौँ, त्यसका उत्तरहरू पाएनौँ,’ उनले भने, ‘अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट रित्तै फर्किँदै छु भन्नुपर्ने बाध्यता छ।’

उनले विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै सरकार र दलहरूले जनताको असन्तुष्टिलाई हल्का रूपमा लिन नहुने बताए। बहुदलीय प्रतिस्पर्धा र संसदीय अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए।

सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने भन्दै राईले आगामी अधिवेशनमा सरकारको कार्यशैली सुधार हुने अपेक्षा व्यक्त गरे।

‘फेरि तीन महिनापछि हाम्रो भेट होस्। तपाईंहरूले आफैँले आफ्नो सरकार नढाल्नुहोला,’ उनले भने, ‘अबको सदनमा अहिलेको जस्तो सभामुखमार्फत बोलाउनुपर्ने वातावरण नबनोस्।’

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १२:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !