ग्यास उद्योगीमाथि विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा

ग्यास उद्योगीमाथि विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १३:५६
ग्यास उद्योगीमाथि विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

ADVERTISEMENT

ग्यास अभावका विषयमा संसदीय समितिको बैठकमा दिएको विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवमाथि राजीनामा दिन दबाब बढेको थियो। बुधबार उद्योग समितिको बैठकमा उनले ग्यास अभावको मुख्य कारण उद्योगीहरू रहेको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएकी थिइन्।

उनले भनेकी थिइन्, ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो। ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन।’

त्यसै क्रममा उनले नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, दुई वटा मात्रै भए पुग्छ,’ उनको भनाइ थियो।

मन्त्रीको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। यससँगै उद्योगी र सरकारबीचको विवाद थप चर्किएको थियो।

यता, काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि घण्टौंसम्म लाइन बस्न बाध्य छन्। ग्यास पाइहाले पनि सरकारले तोकेको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने गुनासो बढेको छ।

नेपाल आयल निगम र उद्योग मन्त्रालयले नियमित रूपमा ग्यास आयात भइरहेको तथ्यांक सार्वजनिक गर्दै आए पनि बजारमा भने त्यसअनुसारको सहज आपूर्ति देखिएको छैन। घण्टौं लाइनमा बसेका उपभोक्ताले समेत ग्यास नपाउने अवस्था रहेको छ।

लामो समयदेखि जारी ग्यास अभावलाई पछिल्लो प्राकृतिक विपत्तिले थप जटिल बनाएको छ। १४ भदौदेखि कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानीमा समस्या भएको थियो। वैकल्पिक मार्गबाट ग्यास ल्याइए पनि उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन नसक्दा अभाव झन् चर्किएको हो।

बजारमा ग्यासको आपूर्ति सहज बनाउने र समस्या समाधान गर्नुपर्ने समयमा मन्त्री यादवले उद्योगीप्रति आक्रामक तथा विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो।

उद्योग समितिको बैठकमा मन्त्री यादवले आफूले उद्योगीमाथि कारबाही गर्न खोज्दा मन्त्रालयकै कर्मचारीले असहयोग गरेको गुनासो समेत गरेकी थिइन्। उनले मन्त्रालयभित्रैबाट सहयोग नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।

नेपालमा ग्यास आयात, भण्डारण तथा वितरणका लागि सरकारसँग आफ्नै पर्याप्त पूर्वाधार छैन। हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योग निजी क्षेत्रको स्वामित्वमा छन्। नेपाल आयल निगमको स्वामित्वमा हालसम्म कुनै ग्यास बोटलिङ प्लान्ट छैन।

सरकारको २० प्रतिशत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले केही मात्रामा ग्यास बिक्री गर्दै आए पनि त्यसले बजारको समग्र माग धान्न सक्ने अवस्था छैन।

त्यसैगरी, नेपालसँग ग्यास ढुवानीका लागि आफ्नै बुलेटसमेत पर्याप्त छैन। निजी ग्यास उद्योगहरूले समेत भारतबाट ग्यास आयात गर्दा भारतीय बुलेटकै भर पर्नुपर्ने अवस्था छ। यसका कारण ग्यास ढुवानीमा मात्रै वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ।

यस्तो संरचनागत समस्या र आपूर्ति व्यवस्थापनको चुनौतीबीच उद्योगीलाई नै दोषी देखाउँदै मन्त्री यादवले दिएको अभिव्यक्ति विवादमा परेको थियो। उक्त विवादपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १३:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !