बाढीले क्षतिग्रस्त सबै स्थानमा टेलिकमको सेवा सञ्चालन

बाढीले क्षतिग्रस्त सबै स्थानमा टेलिकमको सेवा सञ्चालन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १७, बुधबार २१:०२
बाढीले क्षतिग्रस्त सबै स्थानमा टेलिकमको सेवा सञ्चालन

काठमाडौं : नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ।

भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। टेलिकमका प्राविधिकहरू निरन्तर रुपमा बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनः सुचारु कार्यमा खटिए पश्चात साइट सुचारु भएका हुन्।

ADVERTISEMENT

बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा सुचारु गरिएको जनाएको छ।

बाढीका प्रभावित तीन जिल्लामा सञ्चालित टेलिकमका १२० साइटमध्ये ८३ साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएको थियो। त्यस्तै, तीन वटा साइटहरू टिमुरे, चिलिमे खोला र त्रिशूली-३‘बी’ साइट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए।

यस्तै, भदौ १६ मा धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमका सबै साइट सुचारु भएका छन्। पूर्ण रुपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध सेवा हाल अन्य साइटबाट उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने भएको छ। यसअघि भदौ १५ मा रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरिएको थियो।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार २१:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !