११ महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँदै चुमभ्यालीका किसान

११ महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँदै चुमभ्यालीका किसान
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १२:२५
११ महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँदै चुमभ्यालीका किसान

गोरखा : गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमभ्यालीका किसान अहिले ११ महिनामा पाकेको गहुँ भित्र्याउन व्यस्त छन्। तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान गहुँ काट्ने, कुट्ने, केलाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा जुटेका हुन्।

चुमभ्यालीको छेकम गाउँका किसान दोर्जे लामाका अनुसार यहाँ खेतीपातीका काममा महिला र पुरुषले आ–आफ्नो जिम्मेवारी बाँडेर काम गर्ने परम्परा छ। पुरुषले गहुँ काट्ने र कुट्ने काम गर्छन् भने महिलाले केलाउने र थन्क्याउने जिम्मेवारी सम्हाल्छन्।

ADVERTISEMENT

गहुँ भित्र्याउने काम सकिएपछि केही दिनमै तोरी र फापर काट्ने, झाँट्ने तथा कुट्ने काम सुरु हुने लामाले बताए। गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको हो।

चुमभ्यालीमा बाली भित्र्याउनुअघि स्थानीय लामामार्फत साइत जुराउने चलन छ। साइत जुराएर बाली भित्र्याउँदा सहकाल रहने जनविश्वासका कारण अझै पनि यो परम्परा निरन्तर छ।

स्थानीय प्रमुख लामा पासाङ फुञ्जोका अनुसार चुमभ्यालीका सबै गाउँमा एकैपटक बाली भित्र्याइँदैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली भित्र्याउने गर्छन्।

गाउँहरू भौगोलिक रूपमा टाढा–टाढा रहे पनि किसानहरू एकअर्काको खेतबारीमा सहयोग गर्न पुग्ने गरेका छन्। कतिपय गाउँमा पुग्न चार घण्टासम्म पैदल यात्रा गर्नुपर्ने हुन्छ।

स्थानीयका अनुसार अबको एक महिनाभित्र चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ। चुमनुब्री–७ को छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा ३ हजार ३०० देखि ३ हजार ५०० मिटरको उचाइमा अवस्थित छ।

अत्यधिक उचाइ र चिसो मौसमका कारण यहाँ गहुँ पाक्न मात्रै करिब ११ महिना लाग्ने गरेको छ। वर्षमा एकपटक मात्रै खेती हुने भएकाले लामो समय लगाएर उत्पादन गरिएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको प्रमुख लामा फुञ्जोले बताए।

चुमभ्यालीमा गहुँ, फापर र आलुलाई मुख्य बालीका रूपमा लिइन्छ। बारीमा गहुँ र फापर आलोपालो लगाएर बालीचक्र मिलाउने परम्परा पनि छ।

यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिन्छ। स्थानीय उत्पादनको माग काठमाडौंमा रहेका तथा विदेशमा बस्ने लामा गुरुहरूमाझ समेत रहेको फुञ्जोले बताए। उत्पादित अन्न स्थानीय उपभोगका साथै विभिन्न खाद्य परिकार बनाउन प्रयोग गरिन्छ।

परम्परागत कृषि प्रणाली अपनाउँदै आएका चुमभ्यालीका किसानले पछिल्लो समय प्रविधिको प्रयोगसमेत बढाएका छन्। करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनमार्फत गहुँ काट्ने र कुट्ने काम हुँदै आएको छ।

चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार अहिले चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने तथा कुट्ने मेसिन छन्। यसले कठिन भौगोलिक क्षेत्रमा खेतीपातीको काम केही सहज बनाएको छ।

चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ। यसका अतिरिक्त गहुँबाट रोटी र चम्पा बनाइन्छ। गहुँ याक र नाकका लागि दानाका रूपमा प्रयोग हुनुका साथै घरेलु मदिरा बनाउनसमेत प्रयोग हुने गरेको स्थानीयले बताएका छन्।

कठिन भौगोलिक अवस्था, छोटो खेतीयोग्य समय र लामो उत्पादन चक्रका बाबजुद चुमभ्यालीका किसानले पुस्तौँदेखि चलिआएको कृषि परम्परालाई निरन्तरता दिँदै आएका छन्। परम्परागत साइत जुराउने संस्कारसँगै आधुनिक प्रविधिको प्रयोगले चुमभ्यालीको कृषि संस्कृति र उत्पादन प्रणालीलाई नयाँ रूप दिँदै गएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !