बञ्चरेडाँडा ल्यान्डफिल साइटबारे प्रभावित स्थानीय जनप्रतिनिधिसँग मन्त्रालयले छलफल गर्ने

बञ्चरेडाँडा ल्यान्डफिल साइटबारे प्रभावित स्थानीय जनप्रतिनिधिसँग मन्त्रालयले छलफल गर्ने
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १२:०६
बञ्चरेडाँडा ल्यान्डफिल साइटबारे प्रभावित स्थानीय जनप्रतिनिधिसँग मन्त्रालयले छलफल गर्ने

काठमाडौं : बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन अस्तव्यस्त बन्दै गएपछि पूर्वाधार मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित फोहोर विसर्जनबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई आज दिउँसो १ बजे सिंहदरबारमा बोलाएको हो।

ADVERTISEMENT

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तथा वातावरण र परिसर सरसफाइ सम्पर्क व्यक्ति महेशबहादुर सिंहका अनुसार फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न जनप्रतिनिधिलाई बोलाइएको हो।

‘फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न १ बजेका लागि बोलाइएको छ,’ उनले भने।

बञ्चरेडाँडा ल्यान्डफिल साइट धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमाक्षेत्रमा पर्छ। धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले पनि मन्त्रालयले छलफलका लागि बोलाएको पुष्टि गरे।

‘आज छलफलमा बोलाइएको छ। फोहोर व्यवस्थापनकै विषयमा छलफल हो,’ उनले भने।

बञ्चरेडाँडामा करिब चार वर्षदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानीय तहको फोहोर विसर्जन हुँदै आएको छ। यसअघि उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो।

वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने उद्देश्यले तत्कालीन सहरी विकास मन्त्रालयले एक अर्ब रुपैयाँभन्दा बढी लागतमा बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गरेको थियो। यो ल्यान्डफिल साइट २० वर्षसम्म सञ्चालन गर्ने लक्ष्यसहित निर्माण गरिएको थियो।

तर सञ्चालनमा आएको चार वर्षमै ल्यान्डफिल साइटमा फोहोरको ठूलो चुली बनेको छ। काठमाडौं उपत्यकासहित २१ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा पनि विस्तारै सिसडोलकै अवस्थामा पुग्न थालेको स्थानीयको गुनासो छ।

ल्यान्डफिल साइटको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ। पछिल्लो समय फोहोरको चुलीबाट लिच्चड बग्ने तथा ड्याम भरिएर लिच्चड खोलामा मिसिने समस्या देखिएको छ।

फोहोरका कारण वातावरण तथा स्वास्थ्यमा असर परेको भन्दै स्थानीय बासिन्दाले दीर्घकालीन र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्न तथा बस्ती र फोहोरलाई सँगसँगै नराख्न माग गर्दै आएका छन्। आजको छलफलमा यिनै विषयमा समेत स्थानीय जनप्रतिनिधिले मन्त्रालयको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १२:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !