राप्रपाको समर्थन विवादले संकटमा किरण थापाको मुख्यमन्त्री यात्रा

राप्रपाको समर्थन विवादले संकटमा किरण थापाको मुख्यमन्त्री यात्रा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार ११:४८
राप्रपाको समर्थन विवादले संकटमा किरण थापाको मुख्यमन्त्री यात्रा

काठमाडौँ : बागमती प्रदेशको मुख्यमन्त्री बन्ने तयारीमा रहेका नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापा मगरको दाबी राप्रपाभित्रको विवादका कारण संकटमा परेको छ। थापाले ६३ सांसदको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको बताइएको छ। यसअघि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीको दौडमा थिए। पार्टी नेतृत्वसँगको छलफलपछि उनलाई पछि हटाएर थापालाई अघि सारिएको हो।

ADVERTISEMENT

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेपाल कम्युनिस्ट पार्टीका २६ गरी ५१ सांसद छन्। थप दुई सांसद आवश्यक पर्ने अवस्थामा १२ सांसद रहेको राप्रपाका संसदीय दलका नेता उद्धव थापाले समर्थन गरेपछि बहुमत पुगेको दाबी गरिएको थियो।

तर, उद्धव थापाले दिएको समर्थनलाई लिएर राप्रपाभित्रै विवाद उत्पन्न भएको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले बागमती सरकार गठनमा कुनै दललाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा संसदीय दलका नेताले समर्थन दिएको भन्दै केन्द्रीय नेतृत्वले आपत्ति जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले व्यक्तिगत रूपमा दिइएको समर्थनलाई पार्टीको आधिकारिक समर्थन मान्न नसकिने बताएका छन्। पार्टीको निर्णयविपरीत कदम चालिएको भन्दै उद्धव थापामाथि कारबाही हुन सक्ने संकेतसमेत राप्रपा नेतृत्वले गरेको छ।

यसैबीच राप्रपा बागमती प्रदेशकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र पठाउँदै उद्धव थापाविरुद्ध भदौ १ गते नै बहुमतबाट अविश्वास प्रस्ताव दर्ता भएको जानकारी गराएकी छन्।

तामाङले संसदीय दलको औपचारिक बैठकबिना व्यक्तिगत लेटरप्याडमार्फत दिइएको समर्थनका आधारमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि नबढाउन प्रदेश प्रमुखसँग आग्रह गरेकी छन्।

राप्रपाको समर्थनको वैधानिकतामाथि प्रश्न उठेपछि थापाको मुख्यमन्त्री दाबी पनि अन्योलमा परेको छ। प्रदेश प्रमुखले प्राप्त समर्थनपत्र, दलहरूको आधिकारिक निर्णय र संवैधानिक व्यवस्थाका आधारमा निर्णय गर्नुपर्ने अवस्था बनेको छ।

यससँगै ओलीको समर्थनमा अघि सारिएका किरण थापाको मुख्यमन्त्री बन्ने यात्रा राप्रपाको समर्थन विवादका कारण निर्णायक मोडमा पुगेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ११:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !