सुनसरी–सिरहा घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सुनसरी–सिरहा घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १५:२३
सुनसरी–सिरहा घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं : सुनसरी र सिरहामा भएको तनाव तथा झडपका घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री सुधन गुरुङसमक्ष प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार दुवै छानबिन समितिले मंगलबार गृहमन्त्री गुरुङलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन अध्ययन गरेपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिइन् ।

ADVERTISEMENT

‘समितिले आज प्रतिवेदन बुझाएको छ । अब अध्ययनपछि कारबाहीमा जान्छ,’ आचार्यले भनिन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत १० साउनको राति हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उपचारका क्रममा जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि मृत्यु भएको थियो ।

उक्त घटनापछि उत्पन्न विवाद सिरहासम्म पुगेको थियो । सिरहामा भएको तनावका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।

दुवै घटनाको छानबिनका लागि गृह मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । सुनसरीको कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो ।

त्यस्तै, सिरहा घटनाको छानबिन गर्न गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरिएको थियो ।

दुवै समितिले घटनाको अवस्था, कारण तथा त्यसक्रममा भएको सुरक्षा परिचालनलगायतका विषय अध्ययन गरी तयार पारेको प्रतिवेदन मंगलबार एकै दिन गृहमन्त्रीसमक्ष बुझाएका हुन् ।

अब गृह मन्त्रालयले प्रतिवेदनको अध्ययन गरी दोषी देखिएका व्यक्तिमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १५:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !