देउवाको आक्रोश : ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ?’

देउवाको आक्रोश : ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ?’
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार १७:१९
देउवाको आक्रोश : ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ?’

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएलगत्तै संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा पुगेर कडा रूपमा प्रस्तुत भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुनदेवी पुगेका देउवाले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध भइरहेका कानुनी प्रक्रिया र षड्यन्त्रबाट आफू विचलित नहुने बताए।

ADVERTISEMENT

आफू र पत्नी आरजु राणाविरुद्ध विभिन्न निकायमा मुद्दा चलाइएको दाबी गर्दै देउवाले अन्तर्राष्ट्रिय फौजदारी अदालतदेखि नेपालका अदालतसम्मका प्रक्रियाको उल्लेख गरे।

‘हाम्रो खिलापमा मुद्दा हाल्यो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ उनले भने।

उनले सर्वोच्च अदालतले आफू र आरजुलाई पक्राउ नगर्न आदेश दिएको दाबी गर्दै त्यसपछि पनि आफूहरूमाथि ‘बदमासी’ गरिएको आरोप लगाए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफूहरूमाथि पटक–पटक अनुसन्धान गरेको पनि देउवाले बताए। उनका अनुसार अनुसन्धानका क्रममा कुनै समस्या नदेखिए पनि पुनः अनुसन्धान अघि बढाइएको थियो।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो केही छैन भन्यो। उसलाई निकालिदियो। यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ उनले भने।

यद्यपि आफूले कसैसँग बदला लिने भावना नराखेको देउवाको भनाइ थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको दाबी गर्दै देउवाले आफूविरुद्ध लाग्नेहरूले पनि केही गर्न नसक्ने बताए।

‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ?’ उनले प्रश्न गरे।

देउवाले नेपालको अदालत र जनताले सबै कुरा बुझिरहेको दाबी गर्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै जवाफ दिने बताए।

उनले नेपालमा गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाले मात्र नआएको स्पष्ट पार्दै संविधानसभाको पहिलो बैठकले गणतन्त्र स्थापना गरेको बताए।

‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र। मैले मात्रै चाहेर ल्याएको हो? संविधानसभाले ल्याएको हो गणतन्त्र,’ उनले भने।

देउवाले अन्ततः नेपाली जनता नै देशका मालिक भएको उल्लेख गर्दै जनताको निर्णय नै सर्वोपरि हुने बताए।

‘नेपाली जनता सबैभन्दा ठूलो हो। जनता मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ,’ उनले भने।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १७:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !