चाडपर्व सुरक्षामा काठमाडौं प्रहरीको विशेष योजना, ३ हजार ५०६ प्रहरी परिचालन

चाडपर्व सुरक्षामा काठमाडौं प्रहरीको विशेष योजना, ३ हजार ५०६ प्रहरी परिचालन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १४:००

काठमाडौं: दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वमा बजार, सार्वजनिकस्थल, यातायात केन्द्र तथा सर्वसाधारणको बढी चहलपहल हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। चाडपर्व मनाउन घर फर्किने, किनमेलका लागि बजार जाने र आफन्तकहाँ आवतजावत गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक का अनुसार परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले भीडभाड हुने स्थानमा निगरानी गर्ने, शंकास्पद गतिविधि पहिचान गर्ने र सम्भावित अपराध नियन्त्रणमा सहयोग गर्नेछन्।

प्रहरीले नियमित गस्तीका अतिरिक्त ड्रोन क्यामेरा, सामुदायिक सेवा केन्द्र, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने जनाएको छ।

चाडपर्वका बेला सार्वजनिकस्थल, बसपार्क, वित्तीय संस्था, सरकारी कार्यालय तथा बजार क्षेत्रमा विशेष निगरानी बढाइएको छ। किनमेल र यात्रुहरूको चाप बढ्दा चोरी, पाकेटमारी, ठगीलगायतका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरी टोलीलाई सक्रिय बनाइएको परिसरले जनाएको छ।

सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी योजना कार्यान्वयन गरिएको प्रवक्ता थापाले बताए। सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई जिम्मेवारी दिएर सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्ने प्रबन्ध मिलाइएको छ। यसबाट घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

चाडपर्वमा नागरिकले सुरक्षित र निर्धक्क भएर उत्सव मनाउन सक्ने वातावरण निर्माण गर्नु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले सर्वसाधारणलाई घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको शंकास्पद गतिविधिप्रति सचेत रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार १४:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !