इन्जिनियर साहले पाए उद्योग मन्त्रालयको जिम्मेवारी

इन्जिनियर साहले पाए उद्योग मन्त्रालयको जिम्मेवारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १९:४२
इन्जिनियर साहले पाए उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्।

गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

ADVERTISEMENT

सुनसरी क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १६ हजार ५ सय ८७ फराकिलो मतान्तरले पराजित गरेका थिए।

निर्वाचनमा साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कार्कीले २६ हजार १ सय ८४ मत मात्र पाएका थिए।

४९ वर्षीय साह पेसागतरूपमा इन्जिनियर, ऊर्जा विशेषज्ञ र समुदाय सशक्तीकरणका पहलकर्ता हुन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन्।

उनको राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु भएको थियो, जहाँ उनी उपाध्यक्षसम्म बनेका थिए। तर, गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका उनी पछि पार्टीबाट पूर्णरूपमा निष्कासित भएका थिए।

जनमत पार्टीबाट बाहिरिएपछि र जेनजी आन्दोलनको प्रभावपछि उनले नयाँ राजनीतिक पहिचानका लागि जनस्वराज पार्टी गठन गर्ने प्रयास गरेका थिए।

सफल नभएपछि त्यो विषय अदालतमा पुगेको थियो। उनले नाम परिवर्तन गरी गत मंसिरमा सर्वोदय पार्टी दर्ता गराएर त्यसको अध्यक्ष बनेका थिए।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा उनी रास्वपासँग सहकार्य गर्दै घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएका थिए।

शिक्षा तथा कार्यअनुभवका हिसाबले साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका व्यक्ति हुन्।

लामो समय जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकका रूपमा काम गरिसकेका उनीसँग जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति व्यवस्थापनको गहन अनुभव छ।

उनले राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटरका रूपमा काम गर्दै ऊर्जा परियोजना, दक्षता मूल्यांकन र संस्थागत सुधारमा समेत योगदान दिएका थिए।

ग्रामीण विद्युतीकरण, आधारभूत पूर्वाधार, सडक निर्माण, सामुदायिक सशक्तीकरण तथा युवाहरूलाई प्राविधिक तालिम र स्वरोजगारतर्फ प्रेरित गर्न सक्रिय रहँदै आएका साह आफ्नो पेसागत दक्षता, प्राविधिक ज्ञान र सामुदायिक सुधारको पृष्ठभूमिका साथ अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

ग्यासको सहज आपूर्ति व्यवस्थापन गर्न नसकेपछि मन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु परेको थियो। साहको पनि मुख्य काम ग्यासको तत्काल सहज व्यवस्थापन गर्नु हुनेछ।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १९:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !