सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १५:०१
सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको मर्मअनुसार शासन सञ्चालन नगरेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सरकार संविधानअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्।

ADVERTISEMENT

उनले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र अर्थतन्त्रमा समेत खर्बौं रुपैयाँ बराबरको क्षति पुगेको अवस्थामा सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

‘हामी विषम परिस्थितिमा छौं। बाढीपहिरोको मारमा छौं। खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्था छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने।

सिंहले निर्वाचनका बेला संविधान परिवर्तन गर्ने प्रतिबद्धता नगरिएको उल्लेख गर्दै अहिले संविधानको मर्ममाथि नै प्रहार भइरहेको दाबी गरे।

‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं। संविधानको मर्ममाथि प्रहार भइरहेको छ,’ उनले भने।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्री नेतृत्वको शासन प्रणाली हुने भए पनि अहिले सरकारमा सल्लाहकारहरूको प्रभाव बढेको आरोप लगाए। सरकारको निर्णय प्रक्रियाको केन्द्र ज्वागलतर्फ सरेको दाबी गर्दै उनले सरकारको कार्यशैलीलाई ‘हुकुमी शासन’को संज्ञा दिए।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ,’ सिंहले भने।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १५:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !