त्रिशूली–३ ‘ए’ सुरुङमा प्वाल पारेर अक्सिजन पठाउन थालियो

त्रिशूली–३ ‘ए’ सुरुङमा प्वाल पारेर अक्सिजन पठाउन थालियो
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:२६
त्रिशूली–३ ‘ए’ सुरुङमा प्वाल पारेर अक्सिजन पठाउन थालियो

काठमाडौं : भोटेकोसी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि प्वाल पारेर अक्सिजन पठाउन थालिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारका क्रममा सुरुङ क्षेत्रमा पाँचवटा प्वाल पारिएको छ। तीमध्ये ‘भर्टिकल होल’मार्फत सुरुङभित्र अक्सिजन पठाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ।

ADVERTISEMENT

प्राविधिक टोलीले करिब आठ मिटर गहिराइसम्म ड्रिलिङ गरी सुरुङसम्म प्वाल पुर्‍याएको हो। उक्त प्वालबाट एयर कम्प्रेसरको सहायताले सुरुङभित्र अक्सिजन पठाइएको छ।

सुरुङभित्र रहेका व्यक्तिसँग सम्पर्क स्थापित गर्ने प्रयास पनि जारी छ। ड्रिलमार्फत सन्देश पठाइएको भए पनि भित्रबाट हालसम्म कुनै जवाफ प्राप्त नभएको प्राधिकरणले जनाएको छ। उद्धार टोलीले सुरुङभित्र प्रकाश तथा ध्वनिमार्फत संकेत पठाउने प्रयाससमेत गरिरहेको छ।

यसैबीच, सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउन एक्स्काभेटरमार्फत खन्ने काम जारी रहेको छ। थप ड्रिलिङ तथा आवश्यक प्रविधियुक्त उपकरणको प्रयोग गर्दै उद्धार कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।

भोटेकोसी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका ४२ जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे यकिन हुन नसकेको अवस्थामा उद्धारका लागि विभिन्न प्रयास जारी रहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !