वैकल्पिक मार्गबाट इन्धन ढुवानी, काठमाडौंमा पेट्रोलियम र ग्यास आपूर्ति सहज

वैकल्पिक मार्गबाट इन्धन ढुवानी, काठमाडौंमा पेट्रोलियम र ग्यास आपूर्ति सहज
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:०३
वैकल्पिक मार्गबाट इन्धन ढुवानी, काठमाडौंमा पेट्रोलियम र ग्यास आपूर्ति सहज

काठमाडौं : काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग अवरुद्ध भए पनि राजधानीमा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर नजिकै त्रिशूली नदीले सडक कटान गरेपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यससँगै अत्यावश्यक सामग्री तथा इन्धन आपूर्तिमा समस्या हुने आशंका बढे पनि निगमले वैकल्पिक मार्गमार्फत ढुवानीको व्यवस्था मिलाइएको जनाएको हो।

ADVERTISEMENT

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मकवानपुरको हेटौंडा हुँदै पेट्रोलियम पदार्थ र एलपी ग्यास काठमाडौं भित्र्याउने तयारी गरिएको छ।

‘मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्छौं,’ उनले भने, ‘ग्यासका अधिकांश प्लान्ट तराई क्षेत्रमा रहेकाले त्यहाँबाट लोड गरी वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याइन्छ।’

उनका अनुसार अमलेखगञ्ज डिपो इन्धन आपूर्तिको मुख्य ‘ब्याकअप’का रूपमा रहेको छ। पाइपलाइनमार्फत पर्याप्त मात्रामा तेल अमलेखगञ्ज पुग्ने भएकाले काठमाडौंमा इन्धन अभाव नहुने निगमको भनाइ छ।

अमलेखगञ्जबाट २० केएल र १२ केएल क्षमताका साना ट्यांकरमार्फत इन्धन काठमाडौं पठाइने साहले बताए। सडक अवरोधका कारण ढुवानीमा केही समय ढिलाइ हुन सक्ने भए पनि आपूर्ति शृङ्खलामा गम्भीर समस्या नआउने उनको भनाइ छ।

केही दिनयताको अविरल वर्षाका कारण रोकिएका अधिकांश इन्धन ट्यांकर शनिबार नै काठमाडौं प्रवेश गरिसकेकाले तत्काल बजारमा अभाव नहुने निगमले जनाएको छ।

सडक अवरुद्ध भएको खबरसँगै बजारमा इन्धन अभावको त्रास नफैलाउन आग्रह गर्दै निगमले उपभोक्तालाई ढुक्क रहन अनुरोध गरेको छ।

‘आपूर्ति सहज रूपमा भइरहेको छ र वैकल्पिक व्यवस्था पनि मिलाइसकेका छौं,’ साहले भने, ‘उपभोक्तालाई आश्वस्त रहन आग्रह गर्दछौं।’

अवरुद्ध मुग्लिन–काठमाडौं सडकखण्ड खुलाउने विषयमा सरकारले आवश्यक अध्ययन तथा पहल गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !