चोरीको स्कुटरमा राइड सेयरिङ गर्दै आएका युवक पक्राउ

चोरीको स्कुटरमा राइड सेयरिङ गर्दै आएका युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार ११:५५
चोरीको स्कुटरमा राइड सेयरिङ गर्दै आएका युवक पक्राउ

काठमाडौं : चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङको काम गर्दै आएका एक युवकलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भई काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार खनालले नक्सालबाट भक्तपुर दरबार स्क्वायरसम्म एक यात्रुलाई लिएर जाने क्रममा यात्रुले आफ्नो ल्यापटपको झोला स्कुटरमै बिर्सिएका थिए। त्यसपछि स्कुटर चालक सम्पर्कविहीन भएपछि पीडितले ट्राफिक प्रहरीमा जानकारी गराएका थिए।

पीडितको आग्रहपछि खोजतलासमा जुटेको ट्राफिक प्रहरीले खनाललाई चोरीको स्कुटरसहित पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा खनालले तेस्रो व्यक्तिको राइड सेयरिङ आईडी प्रयोग गरेर सेवा दिँदै आएको खुलेको प्रहरीले जनाएको छ। उनले स्कुटरमा परिवर्तित नम्बर वा ‘प्र ००–०० प ००’ नम्बर प्रयोग गर्ने गरेको समेत खुलेको छ।

प्रहरीका अनुसार उक्त स्कुटर गत असार २३ गते काठमाडौं महानगरपालिका–२६, गोंगबुबाट चोरी भएको थियो।

यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरीले खोजतलास गरी फेला परेका हराएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिकीभित्र खनालको नागरिकता समेत फेला पारेको थियो।

नागरिकता मोटरसाइकलको डिकीमा भेटिनुले उनी लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको र अन्य मोटरसाइकल चोरीमा समेत संलग्न हुन सक्ने प्रहरीको आशंका छ।

खनाललाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ। स्कुटरमा भेटिएको यात्रुको ल्यापटप भने ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार ११:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !