कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमालेसँग निर्णायक छलफल

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमालेसँग निर्णायक छलफल
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १२:२९
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमालेसँग निर्णायक छलफल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण, मन्त्रालय बाँडफाँट तथा आगामी सरकार सञ्चालनका विषयमा निर्णायक छलफल भइरहेको छ। दुई दलबीच सहमति जुटेपछि विश्वासको मतका लागि अन्य दलसँग पनि आवश्यक परामर्श गर्ने तयारी छ।

ADVERTISEMENT

मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव यसअघि नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्। आजको बैठकमा उक्त प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यसूची रहेको छ।

विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई नियमित रूपमा अघि बढ्ने बाटो खुल्नेछ। त्यसपछि प्रदेश सरकारका नीति तथा कार्यक्रम, विकास निर्माणका काम र कर्णालीका समसामयिक समस्यालाई प्राथमिकताका साथ अघि बढाउने तयारी मुख्यमन्त्री शाहीको छ।

यसअघि नेकपा एमालेका यामलाल कँडेलले मुख्यमन्त्री पदबाट गत साउन ९ गते राजीनामा दिएका थिए। त्यसपछि साउन १२ गते नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने वा नपाउने विषयमा भने एमालेसँगको सत्ता समीकरण र छलफललाई महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १२:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !