कांग्रेसको प्रश्न : ‘कर्णालीमा सिटामोल छैन, मन्त्रीका लागि लाखौँको हेलिकप्टर किन ?’

कांग्रेसको प्रश्न : ‘कर्णालीमा सिटामोल छैन, मन्त्रीका लागि लाखौँको हेलिकप्टर किन ?’
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १२:२९
कांग्रेसको प्रश्न : ‘कर्णालीमा सिटामोल छैन, मन्त्रीका लागि लाखौँको हेलिकप्टर किन ?’

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधिसमेत नपाइरहेको अवस्थामा सरकारले मन्त्रीहरूको उपचार र सेवा–सुविधामा राज्यको ठूलो रकम खर्च गरेको भन्दै सरकारको आलोचना गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णालीका नागरिकले सिटामोल, राहत र सहज स्वास्थ्य सेवा नपाइरहेको तर मन्त्री बिरामी पर्दा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।

ADVERTISEMENT

‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ उनले भनिन्, ‘तर मन्त्री बिरामी पर्दा लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ।’

थापाले मन्त्रीलाई काठमाडौं ल्याउन सरकारले ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने तर विपन्न नागरिकलाई केही लाख रुपैयाँ बराबरको राहत दिन नसक्ने अवस्था रहेको आरोप लगाइन्। बिहान–बेलुकाको छाक टार्नसमेत समस्या भएका नागरिकलाई राज्यले आवश्यक सहयोग गर्न नसकेको भन्दै उनले सरकारको ‘सुशासन’को दाबीमाथि पनि प्रश्न उठाइन्।

उनले मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य राज्यका लागि समान हुनुपर्ने बताइन्। ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ,’ उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने ? के यही हो जनताको सरकार ?’

सरकारले एकातिर ठूला द्रुतमार्ग र विकास आयोजनाको चर्चा गर्ने तथा अर्कोतिर कर्णालीजस्ता दुर्गम क्षेत्रमा आधारभूत औषधि र राहतसमेत पुर्‍याउन नसक्ने अवस्था देखिएको उनको भनाइ थियो।

थापाले यस्तो विरोधाभासपूर्ण कार्यशैलीका कारण कर्णालीका नागरिकले सरकारको सुशासनको अनुभूति गर्न नसकेको दाबी गरिन्।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १२:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !