पार्टीका सांसद र मन्त्रीलाई रविको आग्रह : पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

पार्टीका सांसद र मन्त्रीलाई रविको आग्रह : पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २७, बुधबार १७:१५
पार्टीका सांसद र मन्त्रीलाई रविको आग्रह : पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनु मात्र उपलब्धि नभएको भन्दै त्यसलाई ठोस परिणाममा बदल्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका गुनासा र आवाजहरू उस्तै रहेको बताए। माइतीघरमा अझै पनि प्रदर्शन र भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ थियो।

ADVERTISEMENT

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन। बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ,’ उनले भने।

नागरिकलाई निराश बनाउने अवस्था दोहोरिँदै गएमा सरकारले उनीहरूको अपेक्षा पूरा गर्न नसक्ने लामिछानेले बताए। उनले सरकारबाट तत्कालै सबै परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने धारणा राखे।

उनले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई पद र अवसरका रूपमा मात्र नलिई गम्भीरतापूर्वक काम गर्न आग्रह गरे। अहिलेको पुस्ताले आफ्नो जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनको चेतावनी थियो।

‘चार महिनामा केही भएन भन्ने उस्तै आवाज आइरहँदा त कसरी सकिएला र ? आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन। विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो,’ उनले भने।

युवा सांसद र मन्त्रीलाई लक्षित गर्दै लामिछानेले भने, ‘तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन यो। जिम्मेवार भएर सोच्ने बेला हो। यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन्।’

लामिछानेले विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उमेरका आधारमा अनुभवी पुस्तामाथि आलोचना गर्ने गरेको पनि स्वीकार गरे। युवा नेतृत्वको माग गर्दै आफूहरूले पाका पुस्तालाई पर्याप्त सम्मान गर्न नसकेको हुनसक्ने उनको भनाइ थियो।

‘हामीले सधैँ राजनीतिलाई कचकच गरिरह्यौँ। मैले पनि गरेँ। एउटा ठाउँबाट युवा नेतृत्व नै भएन, युवाहरूले चलाउनुपर्ने देश खै त युवा भनेर उमेरले पाका भएका मानिसहरूलाई सम्भवतः अपमानित पनि गर्यौँ, अपहेलित पनि गर्यौँ। उमेरकै कारणले अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौँ कि भन्ने कुरा म आज यहाँ उभिँदा महसुस गर्छु,’ उनले भने।

विगतमा पाका पुस्ताले मात्रै देश चलाएको भन्दै आलोचना गर्न सहज भए पनि अहिले राजनीतिक परिस्थिति बदलिएको उनले बताए। प्रतिनिधिसभामा ठूलो संख्यामा युवा सांसदको उपस्थिति ऐतिहासिक राजनीतिक घटनाक्रम भएको उनको दाबी छ।

प्रधानमन्त्रीसमेत युवा रहेको उल्लेख गर्दै लामिछानेले युवा नेतृत्व स्थापित हुनु मात्रै वर्षौंदेखिको सपना पूरा हुनु नभएको बताए। चुनावी परिणाम र प्रतिनिधिसभामा युवाको संख्यालाई जनताको जीवनमा देखिने परिणाममा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।

‘हामीलाई हिजो अलि सजिलो थियो। दोष लगाइदिए पुग्थ्यो। सबै उमेर पुगेका पाकाहरूले देश चलाए भन्ने कुरा आएको थियो। आज हामीसँग युवा नेतृत्व छ। प्रतिनिधिसभामा यति धेरै युवा हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम हो। हाम्रो देशको प्रधानमन्त्री अहिले संसारकै युवा प्रधानमन्त्रीको रूपमा देश हाँकिरहनुभएको छ,’ उनले भने।

उनले थपे, ‘युवा नेतृत्व आउनुमात्र सपना साकार हुनु होइन। हामीसँग यसलाई परिणाममा बदल्नुपर्ने चुनौती छ। चुनावको नतिजा र प्रतिनिधिसभाको संख्याले मात्रै वर्षौंदेखि हामीले देखेको सपना पूरा हुँदैन।’

प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार १७:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !