उच्च अदालत जनकपुरको राजविराज इजलासले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्‍यो

उच्च अदालत जनकपुरको राजविराज इजलासले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्‍यो
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २, शनिबार ०९:५८
उच्च अदालत जनकपुरको राजविराज इजलासले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्‍यो

राजविराज : उच्च अदालत जनकपुरको राजविराज इजलासले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्दै उल्लेखनीय कार्यसम्पादन गरेको जनाएको छ।

पत्रकार सम्मेलनमा इजलासका रजिष्ट्रार लोकनाथ पराजुलीले अदालतले ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा ६८.८३ प्रतिशत अर्थात् लक्ष्यको १०५.९१ प्रतिशत उपलब्धि हासिल गरेको जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेर आएका १ हजार ९८३ र आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता भएका ३ हजार ८३३ गरी कुल ५ हजार ८१६ मुद्दामध्ये ४ हजार ३ वटा मुद्दा फछ्र्यौट गरिएको छ। हाल १ हजार ८१३ मुद्दा फैसला हुन बाँकी रहेका छन्।

फैसला भएका ४ हजार ३ मुद्दामध्ये २ हजार ७३७ वटाको पूर्ण फैसला तयार भइसकेको छ भने १ हजार २६६ वटाको फैसला लेखन प्रक्रियामा रहेको रजिष्ट्रार पराजुलीले बताए।

निवेदनतर्फ आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ५१५ वटै निवेदन फछ्र्यौट गरिएको अदालतले जनाएको छ।

त्यस्तै, प्रतिवेदनतर्फ आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेर आएका १२१ र नयाँ दर्ता भएका ५३० गरी कुल ६५१ प्रतिवेदनमध्ये ५८३ वटा फछ्र्यौट गरिएको छ, जुन ८९.५५ प्रतिशत हो।

पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश सुभाष पौडेलले जनआन्दोलनका कारण करिब दुई महिना र प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा झण्डै एक महिना नियमित काम प्रभावित भए पनि अदालतले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको बताए।

“यदि सबै दिन नियमित रूपमा काम गर्न पाएको भए अझ धेरै मुद्दा टुङ्ग्याउन सकिन्थ्यो,” उनले भने, “हामी न्याय सम्पादनलाई प्रभावकारी बनाउन दिनरात खटिरहेका छौं।”

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार ०९:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !