किसानलाई समयमै सिँचाइ पानी उपलब्ध गराउन रास्वपाको डेलिगेसन

किसानलाई समयमै सिँचाइ पानी उपलब्ध गराउन रास्वपाको डेलिगेसन
मधेश पत्र मधेश पत्र २०८३ असार १६, मंगलवार ०८:२२
किसानलाई समयमै सिँचाइ पानी उपलब्ध गराउन रास्वपाको डेलिगेसन

जनकपुरधाम : किसानका खेतमा समयमै सिँचाइ सुविधा सुनिश्चित गर्न, पानीपोत रकमको पारदर्शी व्यवस्थापन गर्न तथा सरकारी बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणेशमान चारनाथ नगर कमिटीले कमला सिँचाइ आयोजना, परताहामा डेलिगेसन बुझाएको छ।

रास्वपाका युवा प्रतिनिधिहरूले आयोजनाका कार्यालय प्रमुख रणधीर कुमार साहलाई भेटेर किसानबाट संकलन हुने पानीपोत रकमको आय–व्यय सार्वजनिक गर्न, उपभोक्ता समितिको लेखापरीक्षण पारदर्शी बनाउन तथा आयोजनाको बजेट खर्चबारे स्पष्ट जानकारी उपलब्ध गराउन माग गरेका हुन्।

ADVERTISEMENT

कार्यालय प्रमुख साहका अनुसार किसानबाट उठाइने प्रत्येक १०० रुपैयाँ पानीपोतमध्ये २० रुपैयाँ मात्रै आयोजनाको खातामा जम्मा हुन्छ। बाँकी ८० रुपैयाँ मूल नहर उपभोक्ता समिति तथा शाखा–परशाखा उपभोक्ता समितिहरूले सञ्चालन तथा व्यवस्थापनका लागि प्रयोग गर्ने व्यवस्था रहेको उनले बताए।

कमला सिँचाइ आयोजनाबाट धनुषा र सिराहाका आठ स्थानीय तहका करिब ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। तर चालु आर्थिक वर्षका लागि केन्द्र सरकारले चार करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको भन्दै उक्त बजेट पर्याप्त नभएको मूल नहर उपभोक्ता समितिका अध्यक्ष श्याम बाबु यादवले बताए।

उनका अनुसार नहर मर्मत, सरसफाइ, बाँध तथा अन्य संरचनाको निर्माण र नियमित सिँचाइ व्यवस्थापनका लागि वार्षिक कम्तीमा २० करोड रुपैयाँ आवश्यक पर्ने अवस्था छ।

अध्यक्ष यादवले शाखा–परशाखा समितिमार्फत उठाइने पानीपोत रकम पनि न्यून रहेको बताए। किसानले प्रतिकठ्ठा १० रुपैयाँ र नवीकरण शुल्क २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था भए पनि आर्थिक अवस्था कमजोर भएकाले धेरै किसानले समयमै शुल्क बुझाउन नसक्दा बक्यौता बढिरहेको उनले बताए।

भेटका क्रममा आयोजनाका प्रमुख साहले मधेश प्रदेशको दीर्घकालीन सिँचाइ व्यवस्थापनका लागि प्रस्तावित सुनकोसी डाइभर्सन आयोजना शीघ्र कार्यान्वयन गर्न केन्द्र सरकारसमक्ष पहल आवश्यक रहेको धारणा राखे। उक्त आयोजनाअन्तर्गत बागमती, कमला र बलान नदीलाई समेटेर ड्याम तथा नहर निर्माण गरी मधेशका अधिकांश क्षेत्रमा सिँचाइ विस्तार गर्ने लक्ष्य राखिएको छ।

डेलिगेसन टोलीले समयमै नहर मर्मत, बाँध तथा फाटक निर्माण, कुलो सरसफाइ, ठेक्का सम्झौताअनुसार असार मसान्तभित्र सम्पन्न हुनुपर्ने कामको प्रगति तथा किसानको खेतसम्म सिँचाइ पुगे–नपुगेको अवस्थाबारे व्यापक छलफल आवश्यक रहेको जनाएको छ।

यस विषयमा किसान, उपभोक्ता समिति, जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णयसमेत भएको छ। कार्यक्रममा सिँचाइ व्यवस्थापन सुधार र किसानका समस्या समाधानका उपायबारे विस्तृत छलफल गरिने जनाइएको छ।

रास्वपा गणेशमान चारनाथ नगर कमिटीका राकेश यादव, बाली शर्मा, महादेव यादव, अर्जुन यादव, सूर्यनाथ यादव, विष्णुदेव महतो र विनोद महरालगायतको नेतृत्वमा गएको डेलिगेसनले किसानको सिँचाइ अधिकार सुनिश्चित नभएसम्म र समस्या समाधानका ठोस पहल नभएसम्म थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ०८:२२
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !