सडक विभाग जले पनि देशभरका सडक भइरहेछन् मर्मत

सडक विभाग जले पनि देशभरका सडक भइरहेछन् मर्मत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २८, शनिबार १५:३४
सडक विभाग जले पनि देशभरका सडक भइरहेछन् मर्मत

काठमाडौँ : बाढी-पहिरोका कारण देशभरका ११ सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

देशभरका १६४ सडक एकतर्फी अवस्थामा चालु अवस्थामा छन् । सडक विभागका अनुसार अहिले कोशी राजमार्गदेखि जुम्ला सडकसम्म पूर्ण रूपमा अवरुद्ध छन् ।

ADVERTISEMENT

बाढीका कारण दुई महिनायता नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा स्याफ्रुवेँसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ । हुम्लाको पैमा खोला, संखुवासभाको बरुण नदी, रसुवागढीको स्याउपार्किङ, ताप्लेजुङको फक्ताङलुङमा रानीपुल बेलीब्रिज बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

यसैगरी पश्चिम रुकुमको रिजगाड, उसुमखोला र छलगाडमा पहिरोका कारण भेरि करिडोरको छिन्चु–दुनै सडक खण्ड, रोल्पाको पुतलाचौरमा पहिरोका कारण शहिदमार्ग अवरुद्ध छ । साथै देलेखको बागडुल्लामा पहिरो जाँदा जखुलालु–जुम्ला सडक, संखुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग, यस्तै सिन्धुपाल्चोकको कोदारी र घट्टेखोला नजिकै पहिरो जाँदा अरनिको राजममार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देश विषम परिस्थितिमा छ । ‍यसको बाबजुद पनि निरन्तर रूपमा सडक मर्मतको काम भइरहेको विभागका संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार हाल विभागमातहत सम्पूर्ण निकाय निरन्तर रूपमा सडक मर्मत तथा सम्भार कार्यमा खटिएका छन् ।

‘हामी निरन्तर सडक खुलाउने प्रयास गरिरहेका छौँ,’ न्यौपाने भन्छन्, ‘अरनिको राजमार्ग, रसुवागढीलगायत अवरुद्ध सडक खुलाउने क्रम जारी छ ।’

मंगलबार उग्र रुप लिएको आन्दोलनमा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार सर्वोच्च अदालतलगायत देशका ठुला प्रशानिक भवनहरूमा आगजनी गरेका थिए, यस्तोमा सडक विभाग पनि जल्यो । उनले भने, ‘अहिलेसम्म विभागको आगो निभाउने तथा बाँकी रहेका अत्यावश्यक वस्तुहरू सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।’

विभागको भौतिक संरचना पूर्ण रूपमा क्षति भएकाले अन्यत्र सारेर सेवा प्रवाह गरिने उनको भनाइ छ । तर कहाँ सार्ने अहिले टुङ्गो भने लाग्न नसकेको उनले बताए ।

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १५:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !