भ्रष्टाचारविरुद्ध कठोर कारबाही र दलगत भागबन्डाको अन्त्य गर्न चौधरीको माग

भ्रष्टाचारविरुद्ध कठोर कारबाही र दलगत भागबन्डाको अन्त्य गर्न चौधरीको माग
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २८, शनिबार १३:०३
भ्रष्टाचारविरुद्ध कठोर कारबाही र दलगत भागबन्डाको अन्त्य गर्न चौधरीको माग

काठमाडौं : राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय कुमार चौधरीले जेन जेड आन्दोलनको मर्मलाई सुरक्षित गर्दै प्रजातान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउन सबैलाई एकजुट हुन आह्वान गरेको छ ।

पार्टीका केन्द्रीय सचिव चौधरीले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ज्यूले जटिल परिस्थितिमा देखाएको सुझबुझ र संयम कालान्तरसम्म स्मरणीय रहने उल्लेख गरिएको छ । तर चुनौतीहरू अझ कम नभएको भन्दै उनले आक्रोश र भावना मात्रलाई प्राथमिकता नदिनुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनको मर्म र प्रजातान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउनुपर्छ । लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्नुपर्छ । कुनै पनि पार्टी, तह वा व्यक्तिको आडमा भएका भ्रष्टाचारलाई कानुन र सक्षम आयोगमार्फत कठोर सजाय दिनुपर्छ । दलगत भागबन्डाको अन्त्य गर्नु नै यो आन्दोलनको मूल अपेक्षा हो ।”

संविधानमा परिमार्जन, संशोधन वा आवश्यक परे पुनर्लेखन गरेर सुधार सम्भव हुने तर कुनै बहानामा पहिचानवादी आन्दोलनलाई कमजोर पार्न नहुने चौधरीले स्पष्ट पारेका छन् । उनका अनुसार उपलब्धि खोस्ने कुनै प्रयास स्वीकार्य हुने छैन ।

विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । साथै, लोकतान्त्रिक मूल्य र जनआवाजको रक्षा गर्न सबैलाई एकजुट हुन आह्वान गरिएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १३:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !