आगजनी र लुटपाटबाट क्षति भए पनि उठ्ने उद्यमीहरूको अठोट

आगजनी र लुटपाटबाट क्षति भए पनि उठ्ने उद्यमीहरूको अठोट
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २८, शनिबार १२:२५
आगजनी र लुटपाटबाट क्षति भए पनि उठ्ने उद्यमीहरूको अठोट

काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटबाट अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोरेका उद्यमी–व्यवसायीले पुनः उठ्ने अठोट गरेका छन्।

सोमबार र मंगलबारको प्रदर्शनमा देशभर उद्योग–व्यवसायिक प्रतिष्ठानमा ठूलो नोक्सानी पुगे पनि उनीहरूले हिम्मत नहार्ने र पुनः व्यवसायलाई लयमा फर्काउने प्रतिबद्धता जनाएका छन्।

ADVERTISEMENT

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा, नाडाका निर्वतमान अध्यक्ष ध्रुब थापा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायतका व्यवसायीहरूले आत्मबल बलियो बनाउँदै अघि बढ्ने बताएका छन्। उनीहरूले आम नेपालीको चाहनाअनुसार देशमा शान्ति र सु–व्यवस्था कायम हुने विश्वास व्यक्त गर्दै पुनः रोजगारी सिर्जना र लगानी विस्तारमा समर्पित रहने प्रतिवद्धता जनाएका छन्।

नेपाल उद्योग परिसङ्घले पनि प्रभावित उद्यमीलाई आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न तयार रहेको जनाएको छ। परिसङ्घले लगानीकर्तामाझ त्रास फैलिने अवस्थाले रोजगारी मात्र नभई स्वदेशी तथा विदेशी लगानीमा समेत नकारात्मक असर पार्ने भएकाले निजी क्षेत्रलाई निर्वाध रूपमा व्यवसाय गर्न सक्ने वातावरण बनाउन र सुरक्षाको प्रत्याभूति दिन सरकारसँग आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार हालको आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटका कारण भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स, हिल्टन होटल, टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सका शोरूमलगायतका प्रतिष्ठानमा ठूलो नोक्सानी भएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !