‘स्वतन्त्र होइनौं, जनताको सेवक हौं’ : अध्यक्ष डा. राउत

‘स्वतन्त्र होइनौं, जनताको सेवक हौं’ : अध्यक्ष डा. राउत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २८, शनिबार १०:३१
‘स्वतन्त्र होइनौं, जनताको सेवक हौं’ : अध्यक्ष डा. राउत

काठमाडौं ः जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीप्रति सदस्यहरूले गर्व गर्नुपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले पार्टीलाई नकार्ने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् र स्वतन्त्र उम्मेदवार तथा जेन–जी आन्दोलनको नाममा फैलिएको ‘पार्टीमा लाग्नु अपराध हो’ भन्ने सोचप्रति चेतावनी दिएका छन्।

उनले भने, “हामी गर्व गर्छौं कि हामी जनमत पार्टीका सदस्य हौं। हामी स्वतन्त्र होइनौं, हामी जनतासँग जोडिएका जनताका सेवक हौं।”

ADVERTISEMENT

राउतका अनुसार नेपालजस्तो ‘ट्रान्जिसनिङ सोसाइटी’ मा प्रचलित विषय अनुसार मानिसहरू आफैंलाई त्यस्तै देखाउने प्रवृत्ति बढेको छ। उनले क्रिकेट, फुटबल वा आन्दोलनको माहोलमा मानिसहरूले नाम, हैसियत र पहिचान नै बदल्ने प्रवृत्ति देखाएको टिप्पणी गरे।

उनले हाल स्वतन्त्र उम्मेदवारहरूको सफलता र जेन–जी आन्दोलनलाई लिएर बनेको माहोललाई अस्वस्थ ठहर गर्दै भने, “कसैले पार्टीमा लाग्नु अपराध हो भन्ने जस्तो वातावरण बनाइएको छ, तर त्यो गलत हो। समाजमा बसेपछि कोही पनि पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैन।”

राउतले पार्टी प्रणालीको आवश्यकता औंल्याउँदै पार्टीको दर्शन, सिद्धान्त, पारदर्शी नीति र दीर्घकालीन निरन्तरताले मात्र जनता सुरक्षित रहने उल्लेख गरे। “पार्टी समाज, जनता र देशप्रति जिम्मेवार हुन्छ। स्वतन्त्र व्यक्तिबाट भने जनता असुरक्षित हुन्छन्,” उनले लेखेका छन्।

जनमत पार्टीको इतिहास स्मरण गर्दै उनले पार्टीको शान्तिपूर्ण आन्दोलनलाई उदाहरणीय बताए। “हामीले कहिल्यै घर लुटेनौं, आगो लगाइनौं, जनतालाई दु:ख दिएनौं। प्रहरीको कुटाइ खाएर पनि गुलाफको फूल दिएका हौं,” राउतले भने।

उनले जनमत पार्टीलाई सामाजिक सञ्जालमा जन्मिएको संगठन नभई गाउँ–गाउँमा पुगेर गरीब, दलित, सीमान्तकृत जनतालाई उठाउने ऐतिहासिक संगठन भएको दाबी गरे।

राउतले अन्त्यमा भने, “क्षणिक आँधी–तूफान आउँछन् तर जनमत पार्टी सतिशालको वृक्षजस्तै जनताको सेवाको लागि खडा रहनेछ।”

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १०:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !