सिरहामा सशस्त्र प्रहरीद्वारा बाटो अवरुद्ध , स्थानीय आक्रोशित

सिरहामा सशस्त्र प्रहरीद्वारा बाटो अवरुद्ध , स्थानीय आक्रोशित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १३:२३
सिरहामा सशस्त्र प्रहरीद्वारा बाटो अवरुद्ध , स्थानीय आक्रोशित

सिरहा : सिरहा नगरपालिका–१७ माडर भन्सार नजिक सशस्त्र प्रहरीले दोहोरो अवरोध (ढाठ) राखेर स्थानीयको आवतजावत रोक लगाएको भन्दै तीन वटै गाउँका बासिन्दा आक्रोशित भएका छन्।

भन्सार गेटभन्दा केही अगाडि काँडेतारसहित अर्को अवरोध राखेर पैदल यात्रुहरूलाई समेत रोकिँदा लचका टोल, इनर्वा टोल र पटेर्वा टोलका करिब ३ सय घरपरिवार दैनिक हैरानीमा परेका छन्।

ADVERTISEMENT

उक्त भन्सार कार्यालय नेपाल–भारत सीमाबाट झण्डै २ किलोमिटर भित्र पर्छ। स्थानीयहरू यही बाटो भएर विद्यालय, अस्पताल, बजार तथा धार्मिक स्थल आउजाउ गर्ने गर्छन्। तर, सशस्त्र प्रहरीले राति १० बजेदेखि बिहान ७:३० बजेसम्म मुख्य सडक एनएच २० नै बन्द गरिदिँदा उनीहरूलाई बिहानको व्यायामदेखि आकस्मिक सेवासम्म पुग्न अप्ठ्यारो भइरहेको छ।

जन्माष्टमीको अवसरमा लचका टोलस्थित कृष्ण मन्दिर जान आएका श्रद्धालुलाई समेत रोकेको स्थानीयहरू बताउँछन्। महिलाहरू खेत र झाडी हुँदै जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य भएको गुनासो छ। उनीहरूले यसलाई आफ्नो मौलिक हकमा अतिक्रमण भएको बताएका छन्।

नेपालको संविधानको धारा १७ ले हिँडडुल गर्ने स्वतन्त्रता मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ भने धारा २६ मा धार्मिक स्वतन्त्रतामा रोक लगाउन नपाइने स्पष्ट व्यवस्था छ। तर स्थानीयहरूका अनुसार कुनै आधिकारिक सूचना नदिई अचानक सशस्त्र प्रहरीले बाटो बन्द गरेको हो।

कानुनअनुसार सार्वजनिक बाटो बन्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग मात्र हुन्छ र त्यसका लागि आधिकारिक आदेश र सूचना आवश्यक हुन्छ। तर यहाँ सशस्त्र प्रहरीले नै एकतर्फी रूपमा ढाठ राखेर नागरिकको स्वतन्त्र आवागमनमा रोक लगाएको स्थानीयको आरोप छ।

सीमा सुरक्षा सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ गण, सिरहाका प्रमुख एसपी नरेश भण्डारीले भने, “हामीले माथिबाट आएको आदेशअनुसार मात्रै ढाठ राखेका हौं” भन्दै जवाफ दिए।

सशस्त्र प्रहरी ऐन, २०५८ ले सीमा सुरक्षा, तस्करी नियन्त्रण र सरकारी निकायको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको भए पनि स्थानीयले नागरिकको मौलिक हक कुण्ठित गरिएको गुनासो गरिरहेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १३:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !