पत्रकार महासंघको लिज जग्गामा बारको दाबीप्रति मेयर साहको आपत्ति

पत्रकार महासंघको लिज जग्गामा बारको दाबीप्रति मेयर साहको आपत्ति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १८:११
पत्रकार महासंघको लिज जग्गामा बारको दाबीप्रति मेयर साहको आपत्ति

जनकपुरधाम : नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहले कडा आपत्ति जनाएका छन् ।

पत्रकार महासंघको टोलीसँगको भेटमा मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । उनका अनुसार पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको हो ।

ADVERTISEMENT

“बार एसोसिएसनसँग आफ्नै भवन हुँदाहुँदै पत्रकार महासंघले लिजमा पाएको जग्गामा अवरोध गर्नु कुनै पनि हिसाबले न्यायसंगत छैन,” मेयर साहले भने ।

मेयर साहले बार एसोसिएसनले आफूहरूले त्यस जग्गामा माटो भरेको दाबी झुटो भएको पनि दाबी गरे । उनका अनुसार सो ठाउँमा विगतमा गंगासागरस्थित रामनारायण मिश्र स्मारक समितिको भवन निर्माणरत हुँदा निर्माण व्यवसायीले माटो भण्डारण मात्र गरेको थियो ।

यस्ता गतिविधिले समाजमा ‘विद्वान् अधिवक्ताहरूको छविमा नकारात्मक प्रभाव’ परेको र ‘न्याय सम्पादन गर्ने पेसाप्रतिकै विश्वासमा प्रश्न उठेको’ मेयर साहको भनाइ थियो । उनले वार्ता र संवादबाट समाधान खोज्नुका साथै दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै दुबै पक्षलाई संयमित हुन आग्रह गरे ।

उक्त भेटमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, सचिव हदीस खुदार, सदस्यहरू नवीन मिश्र, नवीन सिंह, प्रतिभा झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रेस चौतारीका केन्द्रीय सदस्य इन्दिप कोइराला, प्रेस युनियनका केन्द्रीय सचिव अजित तिवारीलगायत पत्रकारहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १८:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !