जनकपुरधामको धनुष सागर सरसफाइ अभियानमा वडाध्यक्ष इन्जिनियर सरोज यादवको सक्रिय सहभागिता

जनकपुरधामको धनुष सागर सरसफाइ अभियानमा वडाध्यक्ष इन्जिनियर सरोज यादवको सक्रिय सहभागिता
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १०, शनिबार १३:२८
जनकपुरधामको धनुष सागर सरसफाइ अभियानमा वडाध्यक्ष इन्जिनियर सरोज यादवको सक्रिय सहभागिता

जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धनुष सागरको संरक्षण र सरसफाइका लागि ग्रामीण क्षेत्रबाट आएका युवाहरू सक्रिय भएर लागेका छन्। उनीहरूको नेतृत्वमा प्रत्येक शनिबार बिहान “धनुष सागर सरसफाइ अभियान” सञ्चालन भइरहेको छ, जसले हालसम्म १२ औँ शनिबारसम्मको यात्रा तय गरिसकेको छ।

प्रगतिशील समाज नेपालका अध्यक्ष जयनाथ अधिकारीको अगुवाइमा शुरू गरिएको यो अभियानले जनकपुरको मौलिक सम्पदा बचाउने प्रयासलाई नयाँ उचाइमा पुर्‍याएको छ। अधिकारीका अनुसार अभियानको मूल उद्देश्य केवल सफाइ मात्र नभई धनुष सागरको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई पुनर्जीवित गर्नु हो।

ADVERTISEMENT

धनुष सागर रामायणकालीन घटनासँग जोडिएको स्थल हो। जनश्रुतिअनुसार, राजा जनकले सीता स्वयंवरको आयोजना गरेका बेला भगवान रामले शिवजीको धनुष भाँच्दा त्यसका टुक्रा यसै सागरमा खसेका थिए। त्यसैले यसलाई ‘धनुष सागर’ नाम दिइएको हो। जानकी मन्दिर नजिकै रहेको यो सागर चार प्रमुख पवित्र सरोवरमध्ये एक मानिन्छ।

तर पछिल्लो समय यसको अस्तित्व संकटमा पर्न थालेको छ। फोहोर, अतिक्रमण, जलस्रोतको उपेक्षा र जनचेतनाको अभावका कारण सागरको सौन्दर्य मर्न थालेपछि युवाहरूले हातमा झोला, झार काट्ने हँसिया र सफाइ सामग्री लिएर अभियानको थालनी गरेका हुन्।

शनिबार सम्पन्न कार्यक्रममा सबैला नगरपालिका–११ का वडाध्यक्ष इन्जिनियर सरोज यादव, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिरेन्द्र यादव, विभिन्न ग्रामीण बस्तीबाट आएका युवाहरू र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति थियो।

वडाध्यक्ष यादवले भने, “सरसफाइ अरूका लागि होइन, आफ्नै लागि गरौं भन्ने सोच जरुरी छ। स्वच्छ वातावरणले हाम्रो स्वास्थ्यमा सुधार ल्याउँछ र सांस्कृतिक सम्पदाको संरक्षण सम्भव हुन्छ।” उनले स्थानीय निकायको तर्फबाट सम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

अभियानका संयोजक अधिकारीका अनुसार प्रत्येक शुक्रबार साँझ जनचेतनामूलक सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। ती कार्यक्रमहरूमा लोकगीत र भजन जस्ता माध्यमबाट नागरिकमा चेतना फैलाउने प्रयास भइरहेको छ।

उनले थपे, “धनुष सागर केवल पोखरी होइन, हाम्रो सांस्कृतिक पहिचान हो। हामीले यसलाई जोगाउन सकेनौँ भने हाम्रो इतिहास र अस्तित्व आफैँ गुम्छ।” उनका अनुसार दीर्घकालीन रूपमा यसलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्ने लक्ष्यसहित युवाहरू जुटिरहेका छन्।

सहरको भीड र राजनीतिक नारा भन्दा टाढा बसेर ग्रामीण युवाहरूको स्वस्फूर्त सहभागितामा सञ्चालन भइरहेको यो अभियान अहिले ‘जनकपुरलाई धाम बनाउने’ चेतनाको हिस्सा बनिसकेको छ। धर्म, संस्कृति र सरसफाइको समागमले धनुष सागर सरसफाइ अभियान स्वरूप लिँदै गएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार १३:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !