मधेसमा पानीको हाहाकार, संघ सरकारले ठूलो प्याकेज घोषणा गर्नुपर्छ : मुख्यमन्त्री सिंह

मधेसमा पानीको हाहाकार, संघ सरकारले ठूलो प्याकेज घोषणा गर्नुपर्छ : मुख्यमन्त्री सिंह
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ श्रावण ९, शुक्रबार २०:०३
मधेसमा पानीको हाहाकार, संघ सरकारले ठूलो प्याकेज घोषणा गर्नुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खडेरीले संकटमा परेका किसानका लागि संघ सरकारले ठूलो राहत प्याकेज घोषणा गर्नुपर्ने बताएका छन्।

शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेसका बारा, पर्सालगायत १३६ वटै स्थानीय तहमा पानीको चरम अभाव भएको बताए। ‘पिउने पानीसमेत नपाइने अवस्था छ,’ उनले भने, ‘खेतीयोग्य जमिन बाँझो बस्न थालेको छ, किसानको रोपाईं प्रभावित भएको छ।’

ADVERTISEMENT

उनका अनुसार मधेस प्रदेश अन्न उत्पादनको मुख्य केन्द्र भए पनि हालसम्म ५० प्रतिशतभन्दा कम मात्र रोपाईं सम्पन्न भएको छ। ‘अहिलेको अवस्थामा मधेस संकटग्रस्त भइसकेको छ,’ उनले भने, ‘प्रदेशको सिंगो बजेट हालेर पनि समस्या समाधान गर्न सकिने स्थिति छैन। संघ सरकारको विशेष सहयोग आवश्यक छ।’

मुख्यमन्त्री सिंहले संघ सरकारले तत्काल किसान लक्षित राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनले बोरिङ प्रणालीमार्फत खानेपानीको आपूर्ति गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारीसमेत दिए।

‘पानीको अभावले न त नागरिकलाई पिउने पानी पुगिरहेको छ, न त खेतमा सिँचाइ गर्न सकिएको छ,’ उनले भने, ‘संघ सरकारले ठूला राहत प्याकेजसहित दीर्घकालीन समाधानतर्फ गम्भीर ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार २०:०३
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !