सप्तरीको गगजली नदीमा वन कर्मचारीकै संरक्षणमा अवैध उत्खनन, डिभिजन प्रमुखमाथि छानबिनको माग

सप्तरीको गगजली नदीमा वन कर्मचारीकै संरक्षणमा अवैध उत्खनन, डिभिजन प्रमुखमाथि छानबिनको माग
मधेशपत्र मधेशपत्र २०८२ असार २०, शुक्रबार ०८:३२
सप्तरीको गगजली नदीमा वन कर्मचारीकै संरक्षणमा अवैध उत्खनन, डिभिजन प्रमुखमाथि छानबिनको माग

सप्तरी : सप्तरीको गगजली नदी क्षेत्रमा भइरहेको अवैध उत्खननमा सरकारी वन कर्मचारी स्वयं संलग्न रहेको खुलासा भएको छ। डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दास नै बालुवा र गिट्टी उत्खननको संरक्षण तथा प्रोत्साहनमा सक्रिय रहेको स्रोतको दाबी छ।

स्थानीयवासीहरूका अनुसार गगजली नदीमा वर्षौंदेखि व्यापक रूपमा भइरहेको उत्खननबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै अब वन कर्मचारी नै माफियासँगको मिलेमतोमा रहेको पुष्टि हुँदै गएको आरोप उनीहरूले लगाएका छन्।

ADVERTISEMENT

रातको समयमा ट्रिपर, ट्र्याक्टर र एक्साभेटर प्रयोग गरी खुलेआम नदीजन्य सामग्री दोहन भइरहेको छ। तर, डिभिजन वन कार्यालय र स्थानीय जनप्रतिनिधिहरूलाई पटक–पटक जानकारी गराउँदा पनि नियन्त्रणका लागि आवश्यक कदम नचालिएको स्थानीयको गुनासो छ। उल्टै उत्खननमा संलग्न समूहसँग वन कर्मचारीको प्रत्यक्ष मिलेमतो रहेको दाबी गरिएको छ।

“हामीले कयौं पटक जानकारी गरायौं, तर सुनुवाइ भएन। अब त लाग्छ, यो सिधै डिभिजन प्रमुखकै संरक्षणमा भइरहेको छ,” एक स्थानीय बासिन्दाले भने।

वन क्षेत्रभित्र यसरी भइरहेको अवैध उत्खननले वातावरणीय सन्तुलनमा प्रतिकूल असर पारेको छ भने सरकारलाई ठूलो मात्रामा राजस्व घाटा भइरहेको छ।

डिभिजन प्रमुख सुभाष चन्द्र दासमाथि तत्काल छानबिन गर्नुपर्ने माग स्थानीय नागरिक समाजले अघि सारेको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दाससँग सम्पर्क हुन सकेन।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०८:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !