वर्षौंदेखि बन्द ‘श्री जगन्नाथ जनहित पुस्तकालय’, न समिति सक्रिय, न सरकारको चासो

वर्षौंदेखि बन्द ‘श्री जगन्नाथ जनहित पुस्तकालय’, न समिति सक्रिय, न सरकारको चासो
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ असार १७, मंगलवार १०:०८
वर्षौंदेखि बन्द ‘श्री जगन्नाथ जनहित पुस्तकालय’, न समिति सक्रिय, न सरकारको चासो

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिका–४, खजुरीस्थित श्री जगन्नाथ जनहित सार्वजनिक पुस्तकालय कुनै समय गाउँका बालबालिका, विद्यार्थी र युवाहरूको अध्ययन केन्द्रको रूपमा परिचित थियो। तर अहिले यो पुस्तकालय बन्द भएको वर्षौं बितिसकेको छ। विसं २०२६ मा स्थापना भएको यो ऐतिहासिक संस्था अहिले धुलोमाटोले ढाकिएको, जीर्ण भवन र कुहिएका पुस्तकहरूको थुप्रोमा सीमित भएको छ।

स्थानीयहरूको भनाइमा, पुस्तकालयको स्थापना कालमा गाउँका विद्यार्थीहरू बिहान बेलुकी यहाँ आएर अध्ययन गर्थे। किताब पढ्ने संस्कृतिलाई यसले प्रोत्साहन दिएको थियो। तर अहिले न त पुस्तकालयको मर्मत गरिएको छ, न त संरक्षणको कुनै पहल देखिएको छ। पुस्तकालयको अवस्थाले गाउँमा शिक्षाको प्रतीक बनेको यो संस्था राज्य, समिति र समाजकै उदासीनताको सिकार बनेको छ।

ADVERTISEMENT

निष्क्रिय समिति, मौन सरकार

श्री जगन्नाथ पुस्तकालयको व्यवस्थापनको जिम्मा लिएको समिति अहिले पूर्णरूपमा निष्क्रिय छ। अध्यक्ष, सचिव, कोषाध्यक्ष सबै सम्पर्कविहीन जस्तै छन्। पुस्तकालयको अवस्था सुधार्न वा पुनः सञ्चालनमा ल्याउन हालसम्म कुनै बैठक, छलफल वा पहल गरिएको छैन।

स्थानीय युवा अभिनास पण्डितले भन्छन्, “हामीले पुस्तकालय खोल्ने प्रयास गर्‍यौं, तर जिम्मेवार व्यक्तिहरू न त भेटिन्छन्, न त कुनै चासो राख्छन्। पुस्तकमाथि जति धुलो जमेको छ, त्योभन्दा धेरै उदासीनता जमेको छ यहाँ।”

समिति मात्र होइन, स्थानीय सरकार पनि यसप्रति बेखबरजस्तै देखिन्छ। पुस्तकालय वडा कार्यालयको परिसरमै अवस्थित भए पनि वडाध्यक्ष स्वयं यसको अवस्थाबारे बोल्न चाहँदैनन्। स्थानीयहरू आरोप लगाउँछन्, “वडाध्यक्ष औपचारिक कार्यक्रम, उद्घाटन र फोटो सेसनमा व्यस्त छन्। तर पुस्तकालय जोगाउनेतर्फ उनको आँखा पुगेको छैन।”

इतिहास बोकेको भवन, संरक्षण विहीन

पुस्तकालयको भवन अहिले झन्डै ५६ वर्ष पुरानो छ। कुनै समय यो गाउँकै सबैभन्दा व्यवस्थित सार्वजनिक संरचना मानिन्थ्यो। तर हाल स्थिति यस्तो छ कि छाना चुहिन्छ, ढोका भत्किएको छ, भित्र रहेका पुस्तकहरू झारपातमा हराएका छन्। केही पुस्तकहरू च्यातिएका छन्, कतिपयमा च्यातिएको पाना बगाएको छ।

स्थानीय संतोष मण्डलले भन्छन्, “शिक्षाको उज्यालो फैलाउने थलो आज गाढा अँध्यारोमा हराएको छ। सरकारले नयाँ पुस्तकालय खोल्ने कुरा गर्छ, तर पुराना जोगाउन सक्दैन। विकासको नाममा जे देखिन्छ, त्यो देखावटी हो।”

‘कन्भिनियन्स पॉलिटिक्स’ को मार

गाउँपालिकाले विगत केही वर्षयता प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने योजना सार्वजनिक गर्दै आएको छ। तर खजुरीमा अवस्थित यो पुरानो र स्थापित पुस्तकालयको संरक्षणका लागि कुनै प्रस्ताव, बजेट वा कार्ययोजना अगाडि बढाइएको छैन।

स्थानीयले भन्छन्, “यो कन्भिनियन्स पॉलिटिक्स हो। देखाउने कार्यक्रम बनाउने, फोटो खिचाउने तर जे छ, त्यसको वास्ता नगर्ने। पुरानो संरचनामाथि ध्यान दिनु सजिलो छैन, किनभने त्यहाँ श्रेय लिने ठाउँ हुँदैन।”

युवाहरूको आवाज: “पढ्न पाउने अवसर खोसिँदै”

गाउँमा शिक्षा र चेतनाको अवस्था कमजोर बन्दै गएको युवाहरू बताउँछन्। उनीहरू भन्छन्, “स्रोतसाधन सीमित छन्। विद्यालयमा गुणस्तरीय शिक्षा छैन, पुस्तकालय जस्तो स्थान गुम्दै जाँदा पढ्न पाउने थोरै अवसर पनि हराउँदै गएका छन्।”

समाजशास्त्री प्रेमनारायण ठाकुर भन्छन्, “ग्रामीण भेगमा पुस्तकालय जस्ता संरचनाहरू केवल अध्ययनको थलो होइन, चेतनाको आधार पनि हुन्। राज्य र समाजले यसको संरक्षण नगर्दा केवल ज्ञानको स्रोत होइन, सामाजिक पूँजी पनि गुमाइन्छ।”

“नयाँ गर्न नसके पनि पुराना जोगाउनुस्”

स्थानीयहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गरेका छन्— “नयाँ गर्न सक्नुहुन्छ भने राम्रो हो। तर सक्नुहुन्न भने पहिलेका राम्रा काम जोगाउनुस्, त्यति त गर्न सकिन्छ होला, हैन?”

पुस्तकालय पुनः सञ्चालनमा ल्याउने माग गर्दै केही युवाहरूले सामाजिक सञ्जालमा अभियान चलाउन सुरु गरेका छन्। उनीहरू पुस्तकमैत्री गाउँ बनाउने सपना बोकेका छन्। तर त्यो सपना तब मात्र साकार हुन्छ, जब समिति सक्रिय हुन्छ र राज्यले वास्ता गर्छ।

प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १०:०८
जयनाथ पण्डित

जयनाथ पण्डित

लेखक


तपाईको प्रतिक्रिया !