योग मानसिक, शारीरिक र आध्यात्मिक सन्तुलनको मूल आधार : सीके राउत

योग मानसिक, शारीरिक र आध्यात्मिक सन्तुलनको मूल आधार : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ असार ७, शनिबार ०९:३५
योग मानसिक, शारीरिक र आध्यात्मिक सन्तुलनको मूल आधार : सीके राउत

काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले योग, ध्यान र साधनालाई मानव जीवनका लागि अत्यावश्यक अभ्यासको रूपमा व्याख्या गरेका छन्। उनले योगले शरीर, मन र आत्माको समन्वय कायम गर्न मद्दत गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राउतले योग अभ्यासले मानसिक तनाव घटाउने, सकारात्मक ऊर्जा प्रदान गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र आत्मबल विकासमा सहयोग पुग्ने बताएका हुन्।

ADVERTISEMENT

‘योग केवल शारीरिक अभ्यास नभई वैज्ञानिक जीवनशैली र समग्र मानव विकासको आधार हो,’ सन्देशमा भनिएको छ, ‘यसले ज्ञान, कर्म, चेतना र स्थिरताको मार्गमा अगाडि बढ्न सहयोग गर्छ।’

उनले योगलाई शारीरिक, मानसिक र आध्यात्मिक सशक्तिकरणका लागि अपरिहार्य अभ्यासको रूपमा उल्लेख गरेका छन्। साथै, योगको उत्पत्ति नेपालमा भएको ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक प्रमाणहरूको चर्चा गर्दै उनले नेपाली सभ्यता र परम्परामा योगको प्रयोग प्राचीनकालदेखि हुँदै आएको दाबी गरेका छन्।

राउतले योगलाई शिक्षा, स्वास्थ्य र राष्ट्रिय नीतिमा समावेश गर्दै संस्थागत रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आजको प्रतिस्पर्धात्मक र तनावग्रस्त जीवनशैलीलाई सहज र सन्तुलित बनाउन योगलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्नेमा उनको जोड थियो।

‘योग शान्ति, स्वास्थ्य र एकताको सन्देश बोकेको, हजारौं वर्ष पुरानो पूर्वीय दर्शनको अमूल्य उपहार हो,’ अध्यक्ष राउतको भनाइ छ।

 

प्रकाशित मिति: २०८२ असार ७, शनिबार ०९:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !