संविधान संशोधन र भिजिट भिसा प्रकरणमा मधेशकेन्द्रित दलहरूको मोर्चाको बैठक बस्दै

संविधान संशोधन र भिजिट भिसा प्रकरणमा मधेशकेन्द्रित दलहरूको मोर्चाको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३०, शुक्रबार १३:४२
संविधान संशोधन र भिजिट भिसा प्रकरणमा मधेशकेन्द्रित दलहरूको मोर्चाको बैठक बस्दै

काठमाडौं : मधेशकेन्द्रित विभिन्न राजनीतिक दलहरूको संयुक्त मोर्चाको बैठक आज बस्दैछ। संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा बस्न लागेको हो।

मोर्चामा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तमलोपा लगायतका दलहरू छन्। संविधान संशोधनलाई मूल एजेन्डा बनाउँदै संघीय लोकतान्त्रिक मोर्चा निर्माण गरिएको हो। अब उक्त मोर्चालाई मधेशको सीमित दायराबाट निकालेर राष्ट्रिय स्तरमा लैजाने प्रयासस्वरूप आजको बैठक तय गरिएको हो।

ADVERTISEMENT

बैठकमा आदिवासी जनजाति र मधेसी समुदायबीच सहकार्य र साझा आन्दोलनका सम्भावनाबारे मुख्य छलफल हुने बताइएको छ। त्यसै सन्दर्भमा मोर्चाका प्रमुख नेता राजेन्द्र महतो हालै पाथिभरा क्षेत्रमा प्रस्तावित केबुलकार योजनाको विरोधमा उत्रिएका स्थानीय जनजातिहरूसँग ऐक्यबद्धता जनाउन सोही क्षेत्रमा पुगेका थिए। मोर्चाले आन्दोलनको नयाँ मोर्चा आदिवासी–जनजाति र मधेसीबीचको सहकार्यमार्फत निर्माण गर्ने योजना बनाएको छ।

यसका साथै, पछिल्लो समय चर्चामा रहेको ‘भिजिट भिसा प्रकरण’ पनि बैठकको मुख्य एजेन्डा बनेको छ। मोर्चाका अध्यक्षहरूलाई पठाइएको कार्यसूचीमा भिजिट भिसासम्बन्धी विषय तेस्रो नम्बरमा राखिएको छ।

मोर्चाले आजको बैठकबाट केही ठोस निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १३:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !