माधव नेपालकै कारण रौतहट विकासमा पछाडि परेको हो : अध्यक्ष यादव

माधव नेपालकै कारण रौतहट विकासमा पछाडि परेको हो : अध्यक्ष यादव
अभिमनु पटेल अभिमनु पटेल २०८२ माघ २२, बिहीबार १९:३३
माधव नेपालकै कारण रौतहट विकासमा पछाडि परेको हो : अध्यक्ष यादव

रौतहट : मेरा बाजे, मेरा बुवा र म स्वयंले माधव नेपाललाई पटक-पटक भोट दिइसक्यौं, अब कहिलेसम्म एउटै नेताको बोझ झेलिरहने ? भन्दै रौतहट क्षेत्र नं. १ का युवाहरूले यसपटक निर्णायक परिवर्तनको संकेत दिएका छन् ।

जसपा नेपालको भातृ संगठन समाजवादी युवा संघ मधेश प्रदेशका अध्यक्ष तथा दुर्गा भगवती गाउँपालिका- ४, छतौना निवासी युवा नेता कमलेश कुमार यादवले लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेलेका माधव नेपालकै कारण रौतहट जिल्ला समग्र रूपमा विकासमा पछाडि परेको आरोप लगाएका छन् ।

ADVERTISEMENT

उनका अनुसार आधुनिक युगमा प्रवेश गरिसक्दा पनि माधव नेपालले पाँच-दशकअघिको उपलब्धिलाई देखाएर भोट माग्नु जिल्लाका जनतालाई बन्धक बनाउने प्रयास हो । उहाँ विश्राम गर्ने उमेरमा पुग्नुभएको छ, तर कामविहीन क्षेत्रलाई अझै पनि आफ्नो राजनीतिक प्रयोगशाला बनाइरहन खोज्नुभएको छ, यादवले भने ।

यादवका अनुसार विगतमा माधव नेपाल रौतहट आउँदा हजारौं कार्यकर्ता, समर्थक र शुभेच्छुकको भीड लाग्थ्यो । तर यसपटकको चुनावी मैदानमा उहाँसँग क्षेत्र हाक्न सक्ने २५ जना प्रभावशाली व्यक्ति समेत नरहेको अवस्था छ, जसले जनविश्वास कति खस्किएको छ भन्ने स्पष्ट देखाउँछ ।

रौतहट जिल्लाले सधैं सम्मानका साथ माधव नेपाललाई संसद र सत्तासम्म पुर्‍याए पनि बदला स्वरूप जिल्लाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, सडक, नाला र शुद्ध खानेपानी जस्ता आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको यादवको आरोप छ । बागमती, लालबकैया र झाझ नदीको बाढीबाट वर्षेनी पीडित हुँदै आएका जनताका लागि दीर्घकालीन समाधान नखोजिनु पनि ठूलो असफलता भएको उनले बताए ।

उदाहरण दिँदै उनले बागमती नदीको बडहर्वा घाटस्थित पुलको चर्चा गरे, जुन माधव नेपालले आफैं शिलान्यास गरेको १४ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । देशकै शक्तिशाली नेता, वर्षौं महासचिव, २१ महिना प्रधानमन्त्री बनेका व्यक्तिले रौतहटका लागि एक पनि दीर्घकालीन उद्योग, व्यापार वा युवालाई रोजगारी दिने योजना ल्याउन सकेनन्, यादवले कटाक्ष गरे ।

उनका अनुसार जीवनको उत्तरार्धमा फेरि सांसद बन्ने बाहेक कुनै नयाँ दृष्टि नदिएका नेताबाट अब विकासको आशा गर्नु भ्रम मात्रै हो । त्यसैले पुराना अफवाह र खोक्रा नारामा नलागी परिवर्तनका लागि मतदान गर्न उनले रौतहट क्षेत्र नं. १ का मतदातालाई आग्रह गरे ।

नेतालाई गाली गरेर होइन, आफ्ना बालबालिकाको भविष्य, जिल्लाको समृद्धि र वास्तविक परिवर्तनका लागि भोट हाल्नुपर्छ, यादवले भने, “पुरानै विकासको कथालाई दोहोर्‍याएर भोट माग्नेहरूको पछि नलाग्न म सबैमा अपिल गर्छु ।

यसपटक रौतहट क्षेत्र नं. १ का जनताले माधव नेपाललाई सम्मानका साथ मतदान नगरी स्थायी रूपमा चुनावी राजनीतिबाट बिदाइ गर्ने तयारी गरिरहेको आवाज जनस्तरबाट दिनप्रतिदिन बलियो बन्दै गएको उनले दाबी गरे ।

प्रकाशित मिति: २०८२ माघ २२, बिहीबार १९:३३
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !