जेन–जी आन्दोलनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डिएसपी कोइराला सम्मानित

जेन–जी आन्दोलनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डिएसपी कोइराला सम्मानित
मधेशपत्र मधेशपत्र २०८२ माघ ९, शुक्रबार २१:३१
जेन–जी आन्दोलनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डिएसपी कोइराला सम्मानित

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस (रजत महोत्सव) का अवसरमा जेन–जी आन्दोलनका क्रममा निर्वाचन आयोगको केन्द्रीय कार्यालय जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश कोइराला सम्मानित भएका छन्।

प्रधान कार्यालय हल्चोक, स्वयम्भूमा माघ ९ गते आयोजित प्रभातकालीन विशेष कार्यक्रममा तत्कालीन गुल्मपति रहेका डिएसपी कोइरालालाई संगठनले ‘वर्ष अधिकृत–२०८२’ को रूपमा सम्मान गर्दै नगद २५ हजार रुपैयाँ, IG APF Commendation र कदरपत्र प्रदान गरेको हो।

ADVERTISEMENT

गत भदौ २४ गते काठमाडौं महानगरपालिका–२७, कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमाथि जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीको प्रयास भएपछि डिएसपी कोइरालाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी टोलीले प्रदर्शनकारीलाई आयोगको मुख्य गेटअगाडि नै रोकेर शान्तिपूर्वक सम्झाउने–बुझाउने प्रयास गरेको थियो। तर भिड अझै आक्रामक बन्दै गएपछि नियन्त्रित बल प्रयोग गर्दै प्रदर्शनकारीलाई तितर–बितर पारिएको थियो। त्यसपछि आयोगको संरचना, महत्वपूर्ण कागजात र सम्पत्ति पूर्ण रूपमा सुरक्षित राख्न टोली सफल भएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त घटनामा निर्वाचन आयोगको भवनमा एक इन्च पनि आगजनी वा भौतिक क्षति हुन नदिइनु सुरक्षा बलको उच्च पेशागत क्षमता, धैर्यता र संवेदनशीलताको उदाहरण रहेको संगठनको ठहर छ।

हाल देशमा निर्वाचनको माहोल बन्दै गएको सन्दर्भमा निर्वाचन आयोगको सुरक्षा अत्यन्त महत्वपूर्ण मानिँदै आएको छ। सोही घटनालाई मध्यनजर गर्दै निर्वाचन आयोगले पनि यसअघि तत्कालीन गुल्मपति कोइरालालाई सम्मान गरिसकेको छ।

निर्वाचन सुरक्षा सशस्त्र प्रहरी बलको प्रमुख दायित्व रहेको उल्लेख गर्दै संगठनले आगामी निर्वाचनमा सुरक्षित मतदान वातावरण सुनिश्चित गर्ने, हुलदंगा नियन्त्रण गर्ने, असंवैधानिक गतिविधि रोक्ने तथा मतदान केन्द्र र आयोगका सम्पूर्ण संरचनाको सुरक्षा प्राथमिकताका साथ गर्ने जनाएको छ।

संगठनले गरेको यो सम्मान राज्यका सुरक्षाबलको भूमिकाप्रतिको संस्थागत कदर मात्र नभई, आगामी निर्वाचन चरणमा सुरक्षा संयन्त्रले निर्वाह गर्ने भूमिकातर्फ निर्देशित महत्वपूर्ण सन्देशका रूपमा समेत हेरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ९, शुक्रबार २१:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !