२१ सदस्यीय श्री कुर्मी सशक्तीकरण मञ्च सर्लाहीको नवगठित जिल्ला कार्य समिति गठन

२१ सदस्यीय श्री कुर्मी सशक्तीकरण मञ्च सर्लाहीको नवगठित जिल्ला कार्य समिति गठन
मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार १८:४७
२१ सदस्यीय श्री कुर्मी सशक्तीकरण मञ्च सर्लाहीको नवगठित जिल्ला कार्य समिति गठन

रौतहट : श्री कुर्मी सशक्तीकरण मञ्च जिल्ला कार्य समिति, सर्लाहीको दोस्रो जिल्ला अधिवेशन आज सर्लाही जिल्लाको कौडेना गाउँपालिका- १, सुकचैना लक्ष्मीपुर टोलस्थित पटेल भवनमा शान्तिपूर्ण, अनुशासित तथा भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त अधिवेशन मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री ई.कनिश कुमार पटेलको प्रमुख तथा विशिष्ट आतिथ्यमा, श्री कुर्मी सशक्तीकरण मञ्च नेपाल केन्द्रीय समिति सदस्य अभिमनु कुमार पटेलको विशिष्ट आतिथ्य तथा जिल्ला अध्यक्ष उपेन्द्र राउत पटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

ADVERTISEMENT

अधिवेशनमा कुर्मी समुदायको एकता, संगठन सुदृढीकरण, अधिकार, पहिचान, सामाजिक न्याय तथा समग्र सामाजिक आर्थिक सशक्तीकरणका विषयमा गहन छलफल गरिएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा वक्ताहरूले कुर्मी समुदायको ऐतिहासिक योगदान, मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै समयानुकूल सुधार र सशक्तीकरण आवश्यक रहेको धारणा व्यक्त गरे ।

वक्ताहरूले समुदायभित्र विद्यमान सामाजिक कुरीति अन्त्य, दाइजो प्रथा उन्मूलन, जाँड–रक्सी तथा कुलतमा फसेका व्यक्तिहरूलाई सचेतना र पुनःस्थापना कार्यक्रममार्फत सुधार गर्ने, शिक्षा प्रतिको रुचि अभिवृद्धि गर्ने, गरिब, निमुखा, असहाय तथा आर्थिक रूपमा कमजोर कुर्मी समुदायलाई सहयोग र संरक्षण गर्ने विषयमा विशेष जोड दिएका थिए । साथै, युवाहरूलाई शिक्षा, रोजगारी र राजनीतिक सहभागितामा अग्रसर गराउँदै समाज परिवर्तनको नेतृत्वदायी भूमिकामा ल्याउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।

अधिवेशनले सामाजिक न्याय, समानता, समावेशी विकास र अधिकार सुनिश्चितताका लागि संगठित र जागरूक समुदाय निर्माण गर्ने संकल्प समेत व्यक्त गरेको छ । महिला, युवा, बुद्धिजीवी, समाजसेवी तथा स्वजातीय बन्धुहरूको उल्लेखनीय र गरिमामय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

अधिवेशनबाट उपेन्द्र राउत पटेलको अध्यक्षतामा २१ सदस्यीय नवगठित जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

गत मंसिर १८ गते पर्सा जिल्ला अन्तर्गत वीरगञ्जमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्देशनअनुसार पौष महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरी विवरण केन्द्रीय समितिमा बुझाउने निर्णयअनुसार सर्लाही जिल्लाको अधिवेशन समयमै, शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमले कुर्मी समुदायको संगठनात्मक मजबुती, ऐक्यबद्धता, सामाजिक सुधार र पहिचानको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष ११, शुक्रबार १८:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !