जनकपुरधाममा युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न

जनकपुरधाममा युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ पुष ९, बुधबार २२:०७
जनकपुरधाममा युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न

जनकपुरधाम : जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको सहभागिताबारे केन्द्रित ‘युवा सहभागिता संवाद कार्यक्रम’ सम्पन्न भएको छ।

युएनएफपीए (UNFPA), राष्ट्रिय युवा परिषदको मधेश प्रदेश युवा सञ्जाल तथा खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा वक्ताहरूले मुलुकमा युवाको प्रभावकारी सहभागिता कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै रोजगारी तथा अध्ययनका लागि ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको अवस्थालाई गम्भीर विषयका रूपमा उठाए। उनीहरूले संघ, प्रदेश र स्थानीय तहले नीति निर्माणदेखि कार्यान्वयनसम्म युवालाई सक्रिय रूपमा सहभागी गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

वक्ताहरूले युवाले आफ्नै लागि निर्माण गरिएका नीति तथा कार्यक्रमबारे जानकारी लिनुका साथै तिनको कार्यान्वयन अवस्थाबारे निगरानी र प्रश्न उठाउन सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए। युवाको अर्थपूर्ण सहभागिताबिना समावेशी र दिगो विकास सम्भव नहुने उनीहरूको भनाइ थियो।

कार्यक्रमकी प्रमुख अतिथि संविधानसभा सदस्य तथा NFPPD की संस्थापक अध्यक्ष महालक्ष्मी उपाध्यायले नीति निर्माण प्रक्रियामा युवाको भूमिका सशक्त बनाउन राज्यले स्पष्ट योजना र पर्याप्त लगानी गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका उपसचिव धर्मेन्द्र लाल कर्णले गर्नुभएको थियो।

संवाद कार्यक्रममा जनसंख्या तथा विकासका लागि सांसदहरूका अध्यक्ष योगेन्द्र चौधरी, संविधानसभा सदस्य मिनाक्षी झा, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख पर्शुराम कार्की, विज्ञ डा. दिपेश घिमिरे, UNFPA का प्रदेश प्रमुख नरेन्द्र मिश्र, प्रदेश युवा सञ्जालका अध्यक्ष नयुम राईन तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतोले आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन मधेस आदिवासी अपाङ्ग महिला संघ (MIDWAN) की अध्यक्ष दिपिका लामाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवा, पत्रकार तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ पुष ९, बुधबार २२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !