विश्वासको मतका लागि मधेश प्रदेशसभा बैठक बुधबार बिहान ८:३० बजे

विश्वासको मतका लागि मधेश प्रदेशसभा बैठक बुधबार बिहान ८:३० बजे
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १६, मंगलवार २१:०१
विश्वासको मतका लागि मधेश प्रदेशसभा बैठक बुधबार बिहान ८:३० बजे

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारीसँगै प्रदेश सभा बैठक बोलाइएको छ। उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेकी छन्।

सर्वोच्च अदालतले परमादेश जारी गर्दै मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनी मंगलबारै प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए। उनले प्रारम्भिक रूपमा दिउँसो २ बजे बैठक बोलाइदिन आग्रह गरेका थिए। तर मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा छलफल भएपछि बुधबार बिहान साढे ८ बजे बैठक बसाल्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

ADVERTISEMENT

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। तर मुख्यमन्त्री यादवसँग हाल २६ जना प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ। उनीसँग नेकपा (एमाले) का २४, नेपाल संघीय समाजवादी पार्टीका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसदको समर्थन रहेको छ।

विश्वासको मत प्रक्रिया अघि बढाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बुधबार बिहान ७ बजे बोलाइएको छ।

यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेता हुदैँ मुख्यमन्त्री नियुक्त गरेपछि उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दायर भएका थिए। सो विवादसँगै प्रदेशको राजनीतिक परिस्थिति थप जटिल बनेको छ।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार २१:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !