मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १६, मंगलवार २०:३४
मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री आवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन लागिएको जानकारी दिए।

उनका अनुसार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिए पनि परमादेशको पत्र आफूले मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा प्रदेशसभा सचिवालयमा बुधबारको लागि पत्र पठाइसकिएको छ।

ADVERTISEMENT

मुख्यमन्त्री यादवले विश्वासको मत पाउने दाबी गर्दै भने, “अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्छ र विश्वासको मत मैले नै पाउँछु। एमालेले मधेशमा जसलाई–जसलाई मुख्यमन्त्री बनाएको छ, ती सबै दलले मलाई साथ दिनेछन्।”

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता भएका आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए। अन्य दलहरू बहुमतका आधारमा सरकार गठनका लागि अघि आए पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सो निर्णयमा विवाद उत्पन्न भएपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेकी थिइन्।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि यसअघि सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश समेत दिएको थियो।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार २०:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !