धनुषाको कमलाका तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

धनुषाको कमलाका तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेशपत्र मधेशपत्र २०८२ मंसिर ११, बिहीबार १८:३६
धनुषाको कमलाका तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको हो ।

ADVERTISEMENT

आयोगका अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको हो ।

उनीहरूले आपसी मिलेमतोमा लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्य निर्माण गर्ने आयोजनामा २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।

७५ लाख रुपैयाँको उक्त आयोजनमा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मा दिनुपर्नेमा आपसी मिलोमतोमा इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिएर २९ लाख ४४ हजार १३७ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

नगर प्रमुख गोइतसहितका व्यक्तिहरूले पदको दुरुपयोऊ गर्दै सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकोले जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ मंसिर ११, बिहीबार १८:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !